वाइडबडी र गिरीबन्धु टि स्टेट प्रकरणको छानबिन गरे सत्ता पक्षकै नेताहरू जेल जान्छन् : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाइडबडी र गिरीबन्धु टि स्टेट प्रकरणको छानबिन गरे सत्ता पक्षकै नेताहरू जेल जाने बताएका छन् ।
आज (सोमबार) एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गदै ओलीले सो कुरा बताएका हुन् । एमालेको बदनाम गर्नमात्र वाइडबडी र गिरीबन्धु टि स्टेटको कुरा उचालिरहेको उनको दाबी छ । उनले बालुवाटारस्थित ललिता निवासको छानबिनले सत्ता गठबन्धनकै नेताहरूको भागाभाग भएको पनि बताए । वाइडबडीमा पनि आफैं जेल जाने भएकाले छानबिन नगरको ओलीको दाबी छ । उनले भने, ‘यति होल्डिङको छानबिन गर न त भन्यौ गर्दैनन् । वाइडबडीको छानबिन गर आफैं जेल जाऊ । अस्तिसम्म ललिता निवास भन्दैथे, अहिले कस्तो भागभाग छ । एउटा यता ढोकाबाट कुदेको छ, अर्को उताबाट कुदेको छ । यिनीहरूका छानबिन नदेखिएको हो र रु यी भ्रष्टहरू उल्टै एमालेलाई धम्की दिँदैछन् ।
गिरीबन्धु टि स्टेटबारे आफ्नो पालोमा कानून बनाएको स्वीकार गरे । तर, गैरकानूनी ढंगले कमिसन खाएर जग्गा बेच्न नदिएको दबी गरे । ओलीले भने– ‘बिना कानून २०५३ सालमा १९ बिघा जमिन बेच्न दिएको थियो त्यसको छानबिन गर । २०५८/६० मा बिनाकानून ५१ बिघा जमिन बेच्न दिएको थियो छानबिन गर र आफैं जेल जाऊ । हामीले कानून बनाइदिएका हौं, कानूनको आधारमा जग्गा सट्टापट्टा गरेरमात्र बेच्न पाउने भनेको हो । गैरकानूनी ढंगले कमिसन खाएर जग्गा बेच्न दिएको होइन, कानून बनाइदिएको हो ।’
गत बुधबार भने ओलीले गिरीबन्धु टी स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी नभएको बताएका थिए । उनले गिरीबन्धु टी स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी नरहेको तर आवश्यक परे अनुसन्धान गर्दा हुने बताएका थिए । झापाको बिर्तामोडस्थित गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लाग्ने गरेको छ ।