हिमालयन क्यापिटलले सिभिललाई गाभ्ने
काठमाडौं । हिमालयन क्यापिटलले सिभिल क्यापिटल मार्केटलाई गाभ्ने भएको छ । (हिमालयन बैंक र सिभिल बैंक) एक आपसमा मर्जर तथा एक्विजिशन भएपश्चात् हिमालयन क्यापिटलले सिभिल क्यापिटललाई गाभ्ने भएको हो । दुवै क्यापिटललको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्याङ्कन प्रतिवेदन (डीडीए)अनुसार सेयर आदान प्रदान अनुपात १००ः३१ स्वाप रेसियो मर्ज हुने भएका हुन् । अर्थात् सिभिल क्यापिटलको १ सय कित्ता सेयर बराबर हिमालयन क्यापिटलको ३१ कित्ता सेयर पाउने छन् ।
सिभिल क्यापिटललाई गाभेपश्चात् हिमालयन क्यापिटलको नामबाट एकीकृत कारोबार गर्नेछन् । हिमालयन क्यापिटलले सिभिललाई गाभ्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । क्यापिटलको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले भदौ २७ गते बिहान ११ बजे रजिष्टर्ड कार्यालय ठमेलमा सभा बोलाएको हो । क्यापिटलको सभाले डीडीए प्रतिवेदनले निर्धाणरण गरेको स्वाप रेसियो पारित गर्नेछ । त्यस्तै, सिभिललाई गाभेपछि जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्नेछ । साथै, सिभिललाई प्राप्ति गर्ने प्रक्रिया सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।