कोशी सरकारविरुद्धको रिट न्यायाधीश खतिवडा र माथेमाको इजलासमा
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतविरुद्धको रिटमा आज अन्तिम सुनुवाइ हुँदैछ । त्यसका लागि सर्वोच्चका न्यायाधीशद्धय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेशीतोकिएको छ ।
प्रदेशसभा चलाइरहेका इस्राइल मन्सुरीको मत लिएर थापाले विश्वासको मत जुटाएको घोषणा गरेपछि एमाले सर्वोच्च गएको थियो । उक्त मुद्दाउपर आज पूर्ण सुनुवाइ हुन लागेको हो । मुख्यमन्त्रीविरुद्ध परेको रिटलाई छिटोछरितो ढंगले निरूपण गर्नुपर्ने भन्दै सर्वोच्चले अग्राधिकार दिएकोले निरन्तर सुनुवाइ भएर टुंगोमा पु¥याइने सम्भावना छ ।
कोशी प्रदेश सरकार गठनको विवादमा यसअघि पनि दायर भएको रिटमाथि ३ न्यायाधीशको इजलासले निरन्तर सुनुवाइ गरी टुंगोमा पु¥याएको थियो । हाल विचाराधीन रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले थापाले विश्वासको मत प्राप्त गरेको भनी घोषणा गरिएको कार्य नेपालको संविधानको धारा १६८ (२) र (४) तथा धारा १८६, संसदीय अभ्यास, संवैधानिक नैतिकता लगायत यस अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको देखिएको ठहर गरेको थियो। अब सर्वोच्चले त्यसको विस्तृत व्याख्या गर्दै फैसला सुनाउनेछ ।
सर्वोच्चले विश्वासको मत लिने प्रक्रिया मात्र बदर गर्छ कि संविधानको धारा १६८ को उपधारा (३) अनुसार सरकार गठनको आदेश दिन्छ भन्नेमा मुख्यमन्त्री थापाको भविष्य निर्धारण हुनेछ । विश्वासको मत पुनः लिनु भनेमा थापाले बहुमत पु¥याउनका लागि अभ्यास गर्न पाउनेछन् । यदि उपधारा २ मा सरकार बन्ने नदेखिएकाले अरु धारामा जानू भनेमा प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेले सरकार बनाउन पाउने छ । एमालेसँग पनि राप्रपा मिलेर ४६ सासद छन् । एमालेले पनि ३५ दिनभित्र विश्वासको मत लिनु पर्ने छ ।
मुख्यमन्त्री थापासहित प्रतिवादीहरु सबैले सर्वोच्चले दिएको म्याद भदौ १३ गते भित्रै सर्वोच्चमा लिखित जवाफ बुझाइसकेका छन् ।
मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । उनलाई सभाको अध्यक्षता गरेका सांसद इस्माइल मन्सुरले पनि मत दिएका थिए । सभाध्यक्षले पनि विशवासको मत दिएपछि कोशी सरकार गठनविरुद्धको विवाद सर्वोच्च पुगेको थियो ।