चुच्चे नक्साबारे अहिलेसम्मका गतिविधि संसद्लाई जानकारी गराउन एमाले सांसदको माग
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले चुच्चे नक्साको बारेमा अहिलेसम्म के के गतिविधि भएको छ त्यसको बारेमा संसद्लाई जानकारी गराउन माग गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद पन्तले अघिल्लो सरकारले पत्राचार नै नगरेको पाइएको पनि बताए । उनले भने, ‘चीनले प्रकाशित गरेको उसको नक्साको छिमेकमा हाम्रो देश देखाउँदा हाम्रो चुच्चे नक्सा नै छैन । र, परराष्ट्रमन्त्रीले अघिल्ला सरकारहरूलाई पत्र नै लेखेको रैनछ भनेर गाली आलोचना गरेर बसिरहनु भएको छ । यो सरकारको दायित्व हो ? वर्तमान परराष्ट्र मन्त्रालय र वर्तमान सरकारले हाम्रो संसदबाट एकमतले पारित नक्सालाई मान्यता दिलाउनको लागि कुन कुन देशसँग के के गतिविधि गरेको छ, पत्राचार गरेको छ त्यसको सम्पूर्ण जानकारी यो संसद्लाई तत्काल दिन माग गर्दछु । ’
भारत र नेपालको बिचका क्रिकेट भइरहेको तर चितवनमा निर्माण गर्न थालेको र अलपत्र परेको क्रिकेटको बारेका प्रधानमन्त्रीले आश्वासन मात्र दिएको पनि सांसद पन्तले बताए । उनले खेलमैदान नदिने खेलाडीले पाउनु पर्ने पारिश्रमिक र सेवा सुविधा नदिने अनि भारतको विरुद्ध छक्कै छक्का हानोस् भनेर आश गरेर हुन्छ भन्दै प्रश्न समेत गरे ।