मुक्तिनाथ कृषि कम्पनीका ५ कृषि संरचना सञ्चालनमा


काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि क्षेत्रको प्रवर्द्धन सम्बन्धी ५ वटा कृषि संरचना सञ्चालनमा ल्याएको छ । जस अनुसार कम्पनीले इटहरी, बर्दिवास, काठमाडौं, बुटवल, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालयहरु सञ्चालनमा ल्याएको छ । यसैगरी स्याङजा र चितवनमा फार्म उत्कृष्टता केन्द्र, कृषिमा लगानी प्रवर्द्धनका लागि कृषि व्यवसाय परामर्श केन्द्र, कृषकहरुलाई दैनिक सेवाको लागि कृषकसँग मुक्तिनाथ कल सेन्टर र आर्टिफिसियल इन्टेलिजेन्समा आधारित मुक्तिनाथ एप सञ्चालनमा ल्याएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.वेदुराम भुसालले उक्त कृषि संरचनाको शुभारम्भ गरेका हुन् । कार्यक्रममा मन्त्री भुसालले कृषि क्षेत्रको समग्र विकासमा नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताउँदै कृषकहरुको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले सिंचा लगायत कृषि संरचनाहरुको विकासमा जोड दिने र खरिद सुनिश्चितता गर्ने संरचनाको निर्माणमा सवै मिलेर लाग्नुपर्ने बताए ।

कार्यक्रममा कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले मुक्तिनाथ कृषि जस्ता पब्लिक कम्पनीहरुको लगानीलाई आकर्षण, प्रवर्द्धन, विकास र नियमनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय मातहत एकीकृत कृषि विकास प्राधिकरणको स्थापना गर्दै सार्वजनिक नीजि सहकारीको साझेदारीमा कृषि चक्रको निर्माण गर्नुपर्ने बताए । सयुंक्त राष्ट्र संघ, विश्व खाद्य संगठनका नेपाल प्रमुख केन सीमीले कम्पनीसँग कोदोजन्य बाली वर्ष २०२३ लाई प्रवर्द्धन गर्न सहकार्यको सुरूवात गरेको र आगामी दिनमा कूटनीतिक नियोग, सरहकार र निजी क्षेत्रको साझेदारीमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले सोह्रो पञ्चवर्षीय योजना निर्माणको अन्तिम चरणमा रहेको सन्दर्भमा यो कार्यक्रम अत्यन्तै फलदायी रहेको र योजनामा सार्वजनिक नीजि सहकारीको साझेदारीको अवधारणालाई योजनामा समेट्ने बताए । कम्पनीका सञ्चालक सिताराम काफ्लेले नेपालको सन्दर्भमा मुक्तिनाथ कृषि कम्पनी जस्ता कृषि क्षेत्रमा कार्य गर्ने कम्पनी र संस्थाहरुलाई सरकारले प्रवर्द्धन र नियमन गर्नु पर्नेमा जोड दिए । ५ वर्षे रणनीतिक योजना ‘भिजन २०८५’ अनुसार कृषक, उपभोक्ता, व्यावसायिक साझेदार, सेवाग्राहीहरुलाई देशव्यापी रुपमा उच्चस्तरीय र दीगो सेवा प्रदान गर्ने अभिप्रायले उक्त संरचना सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *