कोशी प्रदेश : मुख्यमन्त्री बनेका थापा पटक पटक अदालतबाट पदमुक्त

काठमाडौँ । कोशीका मुख्यमन्त्री उद्धव थापा दोस्रो पटक ३८ दिनमा सर्वोच्चबाटै पदमुक्त बनेका छन् । पहिलोपटक २२ दिनमा सर्वोच्च अदालतबाट पदमुक्त बनेका उनि दोस्रो पटक पनि सर्वोच्च अदालतबाट पदमुक्त बनेका हुन् ।

प्रदेशसभाको अध्यक्षता गरेका व्यक्तिलाई जबरजस्ती आफ्नो पक्षमा मतदान गराउने सत्ता गठबन्धनको प्रयासलाई अदालतले फेरि गलत ठहर गरेको हो। अदालतले बिहीबार दोस्रोपटक पनि थापालाई मुख्यमन्त्री पदबाट मुक्त गरिदिएको थियो । यसअघि असार १५ मा प्रदेश सभामा विश्वासको मत लिने बेलामा जम्मा ४६ मत मात्रै पाएपछि एमाले नेता कार्की मुख्यमन्त्रीबाट पदमुक्त बनेका थिए । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कोशीमा सत्ता गठबन्धनका दलहरूसँग बहुमतका लागि आवश्यक संख्या ४७ ठ्याक्कै थियो, अहिले पनि छ । तर, तिनै ४७ मध्ये एक जनाले प्रदेशसभा बैठकको अध्यक्षता गर्नुपर्ने बाध्यता आइलागेपछि गठबन्धनलाई आफूसँग भएको बहुमत पनि काम नलाग्ने बनेको हो।

एमालेबाट प्रतिनिधित्व गर्ने उपसभामुखले प्रदेशसभा बैठकको अध्यक्षता नगरेपछि सत्ता गठबन्धनकै सांसदले अध्यक्षता गरेर मुख्यमन्त्रीलाई मत पनि दिएका थिए।उक्त कदमलाई अदालतले संविधान विपरित भएको ठहर गरेको हो ।

पहिलोपटक मुख्यमन्त्री बन्न गठबन्धन दलका नेताहरूसहित तत्कालीन सभामुख बाबुराम भण्डारीलाई समेत समर्थनको हस्ताक्षर गर्न लगाएका थापाको कदमलाई सर्वोच्च अदालतले साउन ११ मा खारेज गरिदिएको थियो। सभामुखले रेफ्रीको भूमिकामा बस्नुपर्ने व्याख्या गर्दै सर्वोच्च अदालतले त्यसबेला सभामुखको जिम्मेवारी सम्झाइदिएको थियो। लगत्तै गठबन्धनले सभामुख गौतमलाई पदबाट राजीनामा दिन लगाएर साउन १६ मा थापालाई नै मुख्यमन्त्री नियुक्त गर्न सिफारिस गरेको थियो । सोही दिन प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए। यसअघि असार २१ मा मुख्यमन्त्री भएका थापा सभामुखलाई समेत हस्ताक्षर गराएर सत्तासीन बन्दा २२ दिनमै अदालतकै आदेशबाट पदमुक्त बनेका थिए।

यसअघिका चारै जना मुख्यमन्त्री कम्युनिष्ट थिए। उनी अघिका चार जना मुख्यमन्त्रीहरू शेरधन राई, भीम आचार्य र हिक्मत कार्की एमालेका र राजेन्द्र राई नेकपा ९एकीकृत समाजवादी०का हुन् । थापा लामो समय पार्टीभित्रको विभिन्न जिम्मेवारीमा रहेका नेता हुन् । क्षेत्रीय सभापति, जिल्ला सचिव, उपसभापति हुँदै दुई कार्यकाल झापा कांग्रेसको सभापति बनेका थिए। पार्टीमा लामो अनुभव संगालेका थापा जनप्रतिनिधि बनेको यसैपालि हो। पहिलो पटकमै प्रदेशको मुख्यमन्त्री बन्ने सफलता पाएका उनको सत्तायात्रा भने ज्यादै सकसपूर्ण बन्दै आएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *