एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको थियो । सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा थिए । परिवारका सदस्यहरुका अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा राति १ः५० बजेको थियो । त्रिवि शिक्षण अस्पतालको कागजपत्रमा नेम्वाङलाई १ः५० बजे अस्पताल ल्याइपुर्याएको उल्लेख छ । अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गरेका थिए । तर ती कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरेका थिए । त्रिवि शिक्षण अस्पताल स्रोतले ‘मेडिकल प्वाइन्टबाट हेर्दा हामीले नाडी चले,नचलेको, सास फेरे,नफेरेको, मुटु चले,नचलेको हेर्छौं ।
नेम्वाङमा ती केही पनि थिएनन् । त्यो भनेको हस्पिटल आइपुग्नुभन्दा अगाडि नै मृत्यु भएको भन्ने हुन्छ राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले बतायो । एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए । २०४८ र २०५२ सालमा राष्ट्रियसभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए ।
२०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आएका थिए । उनी जनआन्दोलन २०६२।६३ सँगै पुनर्स्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए । नेम्वाङको निधनको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरु अस्पताल पुगेका थिए । अहिले पनि अस्पतालमा नेता–कार्यकर्ताहरुको भिडभाड छ । नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिने छ ।