काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सुरु,मन्त्री ज्वालाद्वारा बस उद्घाटन
काठमाडौं । काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सुरु भएको छ ।
संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् । द्रुत बस सेवा सूर्यविनायक रत्नपार्क रुटमा चल्ने छ । आज उदघाटन भए पनि भोलिदेखि मात्र सर्वसाधारण यात्रुको सेवामा द्रुत सेवाका बस चल्ने छन् ।
बसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायात मन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह तथा मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयरहरु चढेर यात्रा गरेका छन् । यात्रुहरुका लागि भने असोज ४ गते बिहीबारदेखि मात्रै द्रुत बस सेवा सञ्चालन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए ।
अरु सार्वजनिक बसलाई रत्नपार्क-सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ । माइतीघर, कोटेश्वर, जडीबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिनु नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछन् । रत्नपार्क-सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लाग्ने यातायात व्यवस्था विभागले जनाएको छ ।
द्रुत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५-५ मिनेटको फरकमा छुट्नेछन् । ती बसहरु रातो रंगले पोतिएको लेनमा मात्र चल्ने छन् । यी लेनहरुमा दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन् ।