विद्यालय बन्द गरेर आन्दोलनमा सहभागि भए शिक्षकलाई कारबाही गर्ने काठमाडौँ महानगरपालिको चेतावनी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले स्कुल बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन भइरहेका बेला महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या ल्याउने गतिविधि गर्ने शिक्षकहरुमाथि तत्काल कारबाही गर्ने जनाएको हो । काठमाडौँ महानगरपालिकाले विगतदेखी नै पठनपाठन ठप्प पारेर कुनै पनि आन्दोलनमा शिक्षकहरुलाई सहभागि नहुन आग्रह गर्दै आएको छ ।

शिक्षम महासंघले देशभरीका ७७ वटै विद्यालयका शिक्षकहरुलाई सरकार विरुद्धको आन्दोलन सहभागिताका लागि काठमाडौँ केन्द्रविन्दु बनाएर बोलाएपछि आज संविधान दिवसको दिनमा देशभरीका शिक्षकहरु विभिन्न मागहरु लिएर काठमाडौँमा भेला भएर शान्तिपूर्ण आन्दोलन गरिरहेका छन् । काठमाडौँ महानगरपालिकाले भने आन्दोलनमा विद्यालय बन्द गरेर गएका शिक्षकहरुमाथि आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन दिएको छ । महानगरका प्रेस संयोजक सुरेन्द्र बजगाईँका अनुसार शिक्षकहरूको आन्दोलनका कारण विद्यालय बन्द भएको खण्डमा कारबाही गरिने छ । सो आन्दोलनमा काठमाडौँ महानगरपालिकाका शिक्षकहरु पनि सहभागि भएका छन् ।

‘आन्दोलन गर्न पाउनु शिक्षकहरूको अधिकारको कुरा हो । तर, आन्दोलनको नाममा विद्यालय नै बन्द गरिनुहुन्न । विद्यालय बन्द गरियो भने कारबाही गर्न महानगरले शिक्षा विभागलाई निर्देशन दिएको उनको भनाइ छ ।

विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारी बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने सम्मको चेतावनी पनि यस अघिदेखी नै काठमाडौं महानगरपालिकाले दिदैँं आएको थियो । काठमाडौं महानगरपालिकाभित्र रहेका विद्यालयका शिक्षकले विद्यालय नै बन्द गरेर धर्ना, नाराजुलुस तथा आन्दोलनका कार्यक्रममा सहभागी हुन जानु उचित नहुने महानगरपालिकाले जनाएकाे छ । तर यो विषय कति सम्म महानगरपालिकाले कार्यान्वयन गर्न सक्ने हो भन्ने विषय सबैका लागि चासोको विषय बनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *