शिक्षक महासंघको आन्दोलन : माइतीघरमा शिक्षकहरुको विरोध प्रदर्शन

काठमाडौँ । सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरु आन्दोलनका लागि काठमाडौँ आएका हुन् । महासङ्घले विभिन्न १८ बुँदे असहमति राखेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । ती माग पुरा नभएसम्म आन्दोलन नरोकिने महासंघको भनाइ छ । महासंघका अनुसार बुधबार माइतीघरमा भेला भएका शिक्षकहरु जुलुससहित नयाँ बानेश्वर पुग्ने कार्यक्रम छ । त्यहाँ वृहद कोणसभा हुनेछ ।

नेपाल विद्यालय कर्मचारी परिषद्का गंगाराम तिवारीले हजारौँ शिक्षक कर्मचारीहरू काठमाडौंमा आएको भन्दै आफूहरुको माग सम्बोधनका लागि सरकारलाई बाध्य पारिने बताए । आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन् ।

विद्यालय बन्दगरेर आन्दोलनमा होमिएका शिक्षकहरुलाई वार्तामा आउन शिक्षा मन्त्रालयले आह्वान गरे पनि शिक्षकहरु वार्तामा बसेका छैनन् । विगतका सहमतिअनुसार विद्यालय शिक्षा विधेयक नआएकाले दबाबमूलक आन्दोलन थालिएको शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर बताउँछिन् । सरकार र शिक्षक महासंघबीच २०७५ सालमा ३० बुँदे र २०७८ सालमा ५१ बुँदे सहमति भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *