शिक्षकसँग वार्ता गर्न सरकारले माग्यो समय, यस्ता छन् मुख्य माग
काठमाडौं । आन्दोलनरत शिक्षक कर्मचारीसँग वार्ता गर्न सरकारले समय माग गरेको छ ।
गृह मन्त्रालयमा शुक्रबार आन्तरिक छलफलपछि सरकार पक्षले केही समय माग गरेको हो । छलफलमा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासँग उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा रहेका थिए । आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी रहने शिक्षकको भनाइ छ ।
यस्ता छन् नेपाल शिक्षक महासंघको मुख्य माग
– शिक्षकको तलबभत्ता र ग्रेड निजामती कर्मचारीको भन्दा कम हुने छैन भन्ने स्पष्ट व्यवस्था हुनुपर्ने।
– अस्थायी प्रकृतिका शिक्षकलाई विगतका सहमतिका आधारमा स्थायी गर्नुपर्ने।
– विद्यालय कर्मचारीको दायीत्व संघीय सरकारले वहन गर्नुपर्ने।
– ECD शिक्षकलाई प्राथमिक तृतीय शिक्षक सरहको दरबन्दीमा लैजानुपर्ने, संघीय शिक्षा ऐन जारी हुनुभन्दा अगाडि नियुक्त भएका शिक्षकहरुको हकमा पुरानै प्रणाली अनुसार पेन्सन हुनुपर्ने।
– अस्थायी प्रकृतिका शिक्षक स्थायी भएमा पेन्सन प्रयोजनका लागि अस्थायी सेवाअवधि गणना हुनुपर्ने।
– एउटै श्रेणीमा लामो समय सेवा गरेका शिक्षकहरु बढुवा हुन नसक्ने विद्यमान कानुनलाई परिमार्जन गरेर आवधिक बढुवाको व्यवस्था हुनुपर्ने।
– प्रधानाध्यापकको नियुक्ति शिक्षक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट हुनुपर्ने।
– शिक्षक तालिमका लागि शिक्षण काउन्सिलको व्यवस्था हुनुपर्ने।
– शिक्षक सरुवाको अधिकार स्थानीय तहमा दिन नहुने।
– सामुदायिक विद्यालयका शिक्षक दरबन्दी स्थानीय तहमा दिन नहुने।
– संस्थागत विद्यालयका शिक्षकको सेवा सुविधा सामुदायिक विद्यालयका शिक्षक सरह हुनुपर्ने।
– शिक्षक कर्मचारी माथि कारबाहीको अधिकार स्थानीय तहमा दिन नहुने।
– शिक्षकलाई दिदै आएको औषधि उपचारको थप रकममा कटौति गर्न नहुने।