जनता पार्टीबाट टाढाटाढा हुँदैछन् : अर्जुननरसिंह केसी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जनतामा निराशा देखिएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सदस्य केसीले समाजमा व्यापक निराशा र असन्तुष्टि देखिएको बताएका हुन् ।
उनले बैठकमा भने, ‘हाम्रो समाजमा व्यापक निरासा र असन्तुष्टि छ, बेथिति, अव्यवस्था, विधिविहीनता र भ्रष्टाचार किन मौलाइरहेको छ ? सुशासन केबल नारामा मात्र किन सीमित छ ?’
जनतामा नयाँ आशा, विश्वास र भरोसाको प्रत्याभूति दिने वातावरण निर्माण गरिनुपर्ने उनले बताए । त्यसैगरी बैठकमा केसीले कांग्रेस नेताहरु पार्टी कब्जाको होडमा रहेको पनि बताए ।
उनले भने,‘पार्टी कब्जाको होडमा हामी छौँ, सभापति पनि आफ्नो ढंगबाट लाग्नुभएको होला । हामी पनि लागेका छौं तर जनता अर्कैले कब्जा गरिसकेका छन् । जनता पार्टीबाट टाढाटाढा हुँदैछन् ।’