आन्दोलन नै आन्दोलनको घेराबन्दीमा सरकार

काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा सरकारले विभिन्न आन्दोलनको सामना गर्नुपरेको छ । अब दशैं आउन २० दिन पनि बाँकी छैन । सरकारले चाडपर्वका विषयमा जनतालाई अत्यावश्यक वस्तु उपलब्ध गराउन ध्यान दिनुपर्नेमा चिकित्सक, शिक्षक कर्मचारीलगायतको आन्दोलनको घेराबन्दीमा परेको छ । अहिले एक साथ तीनवटा विरोध प्रदर्शन भइरहेको छ । चारैतिर विरोध प्रदर्शन भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानसेनापति प्रभुराम शर्मा र सुरक्षा सल्लाहकार विदेश भ्रमणमा छन् । कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का छन् । उनले नै अहिलेको विरोध प्रदर्शनको सामना गर्नुपरिरहेको छ ।

सुरक्षाको प्रत्याभूतिको माग गर्दै देशभरका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् । स्वास्थ्यकर्मीमाथि बढ्दै गरेको भौतिक आक्रमणको विरोधमा डाक्टरहरू सडकमा उत्रिएका छन् । उपचारका क्रममा बिरामीको मृत्युपछि सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि आक्रमण भएकोमा डाक्टरहरू आन्दोलित बनेका हुन् । उनीहरू विरामीको उपचार गर्नै छाडेर सडकमा आएका छन् ।

भदौ २७ मा हेटौँडाको सञ्चो अस्पतालमा दुईजना डाक्टरमाथि आक्रमण भएको थियो । त्यसको एक हप्ता बित्न नपाउँदै पोखराको मणिपाल अस्पतालमा फेरि डाक्टरमाथि हातपात भएपछि चिकित्सकहरू सडकमा उत्रिएका हुन्  । उपत्यकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी सेतो एप्रोनसहित मंगलबार विरोधमा उत्रिए । उनीहरूले दिउँसो करिब तीन घन्टा माइतीघर क्षेत्रमा प्रदर्शन गरे । उनीहरूले अस्पताल नआऊ, डाक्टर र बिरामीको ज्यान बचाऊ, डाक्टर कुट्न पाइँदैनजस्ता नारा लेखिएको प्लेकार्ड बोकेर विरोध गरेका थिए । आक्रमणकारीलाई कारबाहीको माग गरेका उनीहरूले नभए थप आन्दोलन गर्ने र उपचार सेवा ठप्प पार्ने चेतावनीसमेत दिएका छन् ।

गृह र स्वास्थ्य मन्त्रालयले मणिपालका डाक्टरमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण जनाउँदै संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्  । मंगलबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाएका हुन् । ‘चिकित्सकको चासो र चिन्ता पूरा गर्न सरकार प्रतिबद्ध छ, मुलुकमा विधिको शासन लागू हुन्छ, चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था सरकारले मिलाउँछ,’ गृहमन्त्री श्रेष्ठले भने, ‘चिकित्सकमाथि दुव्र्यवहार र आक्रमण गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।’

यता, शिक्षक आन्दोलन पनि जारी छ । गत हप्ताको बुधबार, बिहीबार र शुक्रबार देशभरका सामुदायिक शिक्षकले काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । जसकारण काठमाडौंको जनजीवन नै प्रभावित बनेको थियो । सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिपछि एकथरी शिक्षक काममा फर्केका छन् । तर राहत, बाल विकास र पेन्सनबाट वञ्चित शिक्षकले प्रदर्शन जारी राखेका छन् ।

बुधबार उनीहरू माइतीघरबाट नयाँ बानेश्वरतर्फ अगाडि बढ्ने क्रममा शिक्षक र प्रहरीबीच धकेलाधकेल भयो । गत शुक्रबार सरकारसँग सहमति भएसँगै शिक्षकहरू आन्दोलनका कार्यक्रम फिर्ता लिएर घर फर्किए पनि राहत कोटाका शिक्षक निरन्तर आन्दोलनमा छन् । सरकारसँगको वार्तामा ७५ प्रतिशत राहत शिक्षकलाई स्थायी गर्ने र अन्य २५ प्रतिशत खुलाबाट भर्ना गर्ने सहमति भए पनि राहत कोटाका शिक्षकले शतप्रतिशत स्थायी हुनुपर्ने माग राख्दै आएका छन् ।

यतिबेला सबैभन्दा सशक्त विरोध प्रदर्शन अभियन्ता ईःले गरेका छन् । उनको विरोध प्रदर्शन यति सशक्त बनेको छ कि त्यसले सर्वत्र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनको साख कमजोर बनाउँदै लगेको छ । विगतमा बालेन तिनै अभियन्ता ईःकै कारण लोकप्रिय बन्दै मेयरमा चुनाव जितेका थिए । साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै विगत आठ दिनदेखि अभियन्ता ईः काठमाडौँ महानगरपालिकाको कार्यालय, राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा छन् ।

ईः को समर्थनमा नेपाली कांग्रेस, एमाले, बुद्धिजीवी, पत्रकार, कानुन व्यवसायी सबैको समर्थन जुट्दै गएको छ । यदि बेलैमा बालेनले ईःको विरोधलाई साम्य बनाएनन् भने उनलाई निकै उकालो पर्ने अनुमान गरिएको छ । रातिको १२ बजेदेखि बिहान ५ बजेसम्म कुर्चीमा बस्ने र बाँकी समय लौरो टेकेर उभिने गरेका ईःको दुवै खुट्टा अस्वाभाविक रूपमा सुन्निएको, नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेर सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
यसबाहेक कोशी प्रदेशमा पहिचान पक्षधरको आन्दोलन लामो समयदेखि जारी छ । उनीहरूको आन्दोलनका कारण कोशी प्रदेशको राजनीतिक अवस्था नै तरल बनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *