भारत नेपाललाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनलमा


काठमाडौं । पेनाल्टी सुटआउटमा विफल, घरेलु मैदान र घरेलु दर्शक समथर्नमा पनि नेपाल पेनाल्टी सुटआउटमा साविक विजेता भारत साफ यू–१९ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । भारतले पेनाल्टीमा ३–२ ले बाजि मार्दै फाइनलको यात्रा तय गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको निर्धारित समय १–१ को बराबरीमा समाप्त भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । निर्धारित समयको खेलमा साहील खुर्सिदले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । खुर्सिदले २६औँ मिनेटमा गोल गर्दै भारतलाई अग्रतामा राखेका थिए । तर, ७४औँ मिनेटमा समीर तामाङले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए । दीपक थापामगरले निकालेको क्रसमा बक्सभित्र रहेका समिरले हेडर गोल गर्दै नेपाललाई बराबरीमा फर्काएका थिए । यसपछि थप गोल हुन नसक्दा खेल पेनाल्टीमा पुगेको हो । त्यसअघि ४७औँ मिनेटमा निराजन धामीको प्रहार पोस्टमा लागेर फर्किंदा नेपालले बराबरीको मौका गुमाएको थियो ।

नेपालबाट आश्विन घोरासैनी र कुशल देउवाले गोल गरे । नेपालका प्रशान्त लक्षमको प्रहार भारतका गोलकिपर लियोनल डार्यलले बचाएका थिए । यस्तै, लछु थापाको प्रहार बारमा लागेर फर्किदा विक्रम तामाङको प्रहार आकासिएको थियो । भारतका अर्जुन सिंह ओइनाम, ग्वग्वम्सर गोयरी र मङ्लेन्ताङ किप्गेनले गोल गरे । भारतका दिनेश सिंह सोउबम र रिकी मैतेई हाओबमको प्रहार नेपालका गोलकिपर जियारथ सेखले बचाए पनि मैदानमा उपस्थित १२ हजार ६५६ दर्शकमाझ हार टार्न भने सकेनन् । जितसँगै भारतले अब उपाधिका लागि पाकिस्तानसँग खेल्ने भएको छ । पाकिस्तानले आजै भएको पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *