सहमतिको मसी सुक्न नपाउँदै काठमाडौं मेडिकल कलेजका चिकित्सकमाथि कुटपिट
काठमाडौं । सरकारसँग सहमतिको मसी सुक्न नपाउँदै काठमाडौंमा पुनः एकजना चिकित्सकमाथि कुटपिट भएको छ ।
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सकमाथि विरामीका आफन्तले कुटपिट गरेका हुन् । सरकारले सुरक्षित कार्यस्थलको ग्यारेन्टी गर्ने भनेपछि शनिबार ६ बुँदे सहमति गरेर चिकित्सकहरु काममा फर्किएका थिए।
आइतबार बिहान मेडिकल कलेजका चिकित्सक तथा स्वास्थ्कर्मीमाथि कुटपिट गरेका हुन् । मेडिकल कलेजको नेफ्रो विभागको ओपीडीमा कार्यरत डा. मनीषसहित इन्टर्नमा रहेका स्वास्थ्यकर्मी कुटिएका हुन् ।
डायलाइसिस गर्न आएका बिरामी कुरुवाले डायलाइसिस गर्ने पालो ढिलो आएको भनेर चिकित्सकलाई हातपात गरेका बताइएको छ । मध्यराति चिकित्सक कुटिएपछि आइतबार बिहानैदेखि अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।
अहिले उनीहरु अस्पताल परिसर र सिनामंगलस्थित सडकमा उत्रिएर धर्ना बसेका छन् । आन्दोलनका कारण अस्पताल पनि ठप्प छ ।
प्रहरीले घटनामा संलग्न भएको भन्दै दुई जनालाई पक्राउ गरेको छ ।
पछिल्लो समयमा विभिन्न अस्पतालमा चिकित्सक कुटिने घटना बढिरहेका छन् । यसअघि हेटौंडाको सञ्चो अस्पताल, पोखराको मणिपाल अस्पताल, लमजुङ जिल्ला अस्पतालमा चिकित्सक कुटिएपछि देशभरका स्वास्थ्यकर्मी आन्दोलित भएका थिए ।