जगदम्बा स्टिल्सको व्यापार ४० अर्ब नाघ्यो,आइपीओ जारी गर्ने तयारीमा


काठमाडौं। निर्माण सामग्री कम्पनी जगदम्बा स्टिल्सको व्यापार ४० अर्ब नाघेको छ। अघिल्लो आर्थिक वर्ष डन्डी उद्योगलाई दिएको ८ प्रतिशत नगद अनुदानका कारण विदेश निकासीमा पनि जगदम्बा एग्रेसिभ छ। गहिरिएको मन्दीका कारण अघिल्लो वर्षको तुलनामा शंकर समूहको उक्त कम्पनीको व्यापार साढे ९ अर्बले घटेको छ। व्यापार घटेपनि जगदम्बा अझै पनि देशको शीर्ष डन्डी उद्योग कायमै छ। अझै पनि जगदम्बा स्टिल्सको बजार हिस्सा ३५ प्रतिशत छ। कम्पनीले दसैंपछि आइपीओ जारी गर्ने तयारीमा छ। सम्भवत कम्पनीले बुधबारनै नेपाल धितोपत्र बोर्डमा सेयर निष्काशनका लागि आवेदन दिनेछ। कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ। कम्पनीको नाम जगदम्बा स्टिल्स लिमिटेड हो। यो राम्रो मुनाफा गर्ने कम्पनी हो। पछिल्लो समयमा मन्दी, तरलता चर्किएसँगै बढेको ब्याज लगायत कारणले कम्पनीले आइपीओ जारी गर्न लागेको हो। ‘मार्केड लिडर रहेको र राम्रो नाफा दिएको कम्पनीको सेयर अहिले असहज परिस्थितिका कारण ल्याउन खोजिएको हो, कम्पनीका एक संचालकले भने, ‘हाम्रा लागि यो क्यासकाउ हो।

यस्तो कम्पनीको सेयरले सर्वसाधारण पनि लाभान्वित हुने हाम्रो विश्वास छ। कम्पनीले २० प्रतिशत हाराहारीमा सर्वसाधारणलाई सेयर जारी गर्नेछ। प्रिमियममा आइपीओ जारी गर्न कम्पनीले इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालबाट आइआरएन ट्रिपल बी इसुअर रेटिङ पाएको छ। सन् २०२२।२३ मा जगदम्बा स्टिल्सको व्यापार (अपरिष्कृत) ४० अर्ब १७ करोड रुपैयाँमा झरेको छ। जबकि अघिल्लो वर्ष कम्पनीले ४९ अर्ब ७३ करोड रुपैयाँको कारोबार गरेको छ। जगदम्बा स्टिल्सले गत वर्ष कारोबारका हिसाबले निजी क्षेत्रको दूरसंचार सेवा प्रदायक एनसेललाई पनि उछिनेको थियो। यस्तै, जगदम्बा स्टिल्सले २०२०।२३ मा २९ अर्ब ५५ करोड र २०१९।२० मा २१ अर्ब रुपैयाँको कारोबार गरेको थियो। स्टिल सबैभन्दा जोखिमको क्षेत्र हो। अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावले पनि स्टिल उद्योग जोखिममा पर्ने गर्छ। केही समयअघिको कुराकानीमा शंकर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले जगदम्बाले अघिल्लो वर्ष करिब ५० अर्बको व्यापार गरेकोमा आव २०७९।८० मा करिब ६० अर्बको कारोबार गर्ने लक्ष्य राखेको बताएका थिए। तर, देशको समग्र आर्थिक क्रियाकलाप नै संकुचनमा परेपछि त्यसको प्रत्यक्ष मारमा जगदम्बा स्टिल्स परेको हो। बजारमा डन्डीसँगै अन्य निर्माण सामग्रीको माग एकदमै घटेपछि कम्पनीको कारोबार प्रभावित बन्न पुगेको देखिन्छ। बाराको जीतपुरमा प्लान्ट रहेको जगदम्बा स्टिल्ससँग वार्षिक २४ लाख ४४ हजार टन जडित क्षमता छ। २०२१ मा कम्पनीको जडित क्षमता २० लाख ३० हजार टन थियो। २०२१ मा कम्पनीले सीआरएम प्लान्ट थप गरेको थियो। कम्पनीले एमएस बिलेट उत्पादनका लागि स्पन्ज आइरन र पिग आइरन विदेशबाट आयात गर्दै आएको छ। कम्पनीले भारत र चीनबाट एचआररसीआर कोइल्स, वायर रड, पिग आइरन र स्पन्ज आइरन आयात गर्दै आएको छ। पत्रु (स्क्याप) भने स्वदेशी बजारबाटै जुटाउँदै आएको छ। आम्दानीको ८२ प्रतिशत हिस्सा कच्चा पदार्थ खर्चले ओगट्छ। स्पन्ज आइरन र पत्रु प्रशोधन खर्चसँगै इन्धन खर्चमा भएको वृद्धिका कारण कम्पनीको संचालन लागत महँगिएको छ। कम्पनीले बिलेट आफैंले उत्पादन गर्ने भएकाले खर्च केही जोगिएको छ। उद्योगले टीएमटी बार, एङ्गल्स, सेक्सन, पाइप, सटर प्रोफाइल, कोइल्स, सिट्स, विभिन्न वायर प्रडक्ट उत्पादन गर्दै आएको छ। जगदम्बा स्टिलले जगदम्बा इ, राइनो ५०० डी, जगदम्बा सुपर साइन, जगदम्बा गाल्भा प्लस, जगदम्बा पाइप र जगदम्बा वायरसहित विभिन्न ब्राण्ड बजारमा बिक्री गर्दै आएको छ। कम्पनीले ३५ अर्ब १४ करोट रुपैयाँ बैंकिङ कर्जाका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङबाट रेटिङ गराएको छ। १२ अर्ब ५८ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि कम्पनीले आइआरएन ट्रिपल बी र २७ अर्ब रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआरएन एथ्रीप्लस रेटिङ पुनःपुष्टि गराएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *