पराल कै छाप्रो भए पनि एउटा घर भए हुन्थ्यो
अशार १५ अर्थात ३० जुन ईं.सं.२०२३ मा म सँग सामाजिक सञ्जालमा जोडीनु भएकी झारखण्ड भारतबाट गएर हाल कलकत्तामा बशोबास गरिरहेकी प्रगतीबादी अभियन्ता सङ्गीता रोयले पैलिष्टाइन गाजा स्ट्रीपका नानीहरुको तस्वीर साझा गर्नु भएको थियो ।
त्यसैगरी,अशार १७ अर्थात ०२ जुलाई ईं.सं.२०२३ मा भारतीय बुद्धिजिवि,लेखक,सचेत नागरिक दिगम्बरज्यूले खेतको काम सकेपछि एउटा राँगोले तानेको गाडामा घर फर्किरहेके एक किशान परिवारको छविचित्र किशान पत्रिकाको आवरणबाट साभार गरेर साझा गर्नु भएपछि मलाई पनि विधार्थीकालको सम्झना भयो । केटाकेटी जहाँ बसेर पढ्न चाहन्छन त्यो ठाउँमा पराले झुपडी नै भएपनि घर होश नभए घर जस्तै व्यवहार होश भनेर बुबाले हामी दाजुभाईलाई घरमा तराइको स्थानीय भाषी शिक्षक राखेर र पछि माओलमा बसेर दाजुहरु डा.ऋषिराज–नबराज–गोविन्दप्रसाद सवैले कक्षा ८ देखि एसएलसीसम्म सिन्धुलीको कमला हाईस्कूलबाट गर्नु भयो । मलाई चाहिँ खुर्कोटमा ७ कक्षा एक बर्ष आफ्ना नातेदार समेत पर्ने टीका तथा टङ्कप्रसाद–तुलशी–बैकुण्ठ आचार्यहरुको घरमा राखेर जनज्योति माविमा पढाउने विचार गर्नु भए पनि आखिरमा टीकाप्रसादहरुको नै एउटा सिङ्गो घर नै खाली रहेकोले उहाँहरुले नै पढाई नसकुञ्जेल निःशुल्क बस्न दिनु भयो । १० बर्षको उमेरमा खुर्कोट खोलाबाट पानी बोकेर हालको जनज्योती मावि पहिले माथी बारुद खाना नामको डाँडामा भएकाले उकालो चढेर पढ्न गएको सम्झदा अहिलेका केटाकेटी गफ दिएको ठान्दा हुँन ।
एक बर्ष पछि बि.सं.२०२९ सालमा पढ्न म विराटनगर गएँ ,सत्यनारायण माविबाट एसएलसी गरेँ । बिराटनगरको २०३२ सालमा बनाएको पुरानो घर सामान्य मर्मत गरेर गुजारा चलाएको छौँ । दोलखा निवासी सशुराबाले आफु जहाँ बसेपनि केटाकेटी आफ्नै घरमा बसेर शिक्षा हासिल गरुन भनेर सकि नसकि वि.सं.२०३६ सालमा ८ आना जग्गा जोडेर बत्तिसपुतलीमा एउटा टिनको टहरा बनाउनु भयो । त्यो टहरामा बसेर पढ्नेहरु अहिले सबैको उन्नती भएको छ । सशुरालीको त्यो घरलाई त्यो घरमा बसेर पढ्नेहरुले विर्सिए पनि त्यो घरले विवेक एवं नैतिक रुपमा भनेँ पक्कै विर्सेको छैन होला । बि.सं.२०५२ साल माघतिर बिराटनगरबाट आएर मैले त्यो टहरामा अहिले चितवनका प्रसिद्ध व्यवस्थापन प्राज्ञ गोपि नेपालसँग १ महिना बसेर आधुनिक भवन भएको स्टाफ कलेजको तालीम लिने अवशर पाएको थिएँ । २८ बर्ष अघिको तस्वीरहरु छन् मष्तिस्क र एलबममा अझै पनि ।
त्यही स्टाफ कलेजको तालीमको बेला गोपी सरलाई भेट्न आउनु भएका आईतबारे छलफल साप्ताहिका संस्थापक एवं प्रधान सम्पादक बरिष्ठ सञ्चारकर्मी दोलखा निवासी गोपाल थपलीयासँग पनि चिनजान गर्ने अवशर मिल्यो । ‘लौ आज एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमारको नेपालको घरमा जाऔँ,समाचार पनि बनाउनु छ’ भन्दै उहाँले हामीलाई लिएर जानु भयो । घर कोटेश्वरमा रहेछ । माधव नेपाल बि.सं.२०५२ सालको एमाले सरकारका माष्टर माइण्ड हुनुहुँदो रहेछ । मान्छे सरल कम बोल्ने । तर,उहाँको पविार गायत्री आचार्य राष्ट्रिय बाणिज्य बैँङ्कको कर्मचारी हुनु भएपनि घरेलु राजनीतिमा दिलचस्प राख्नु हुनुहुँदो रहेछ ।
नेता माधवसँग बसेर हामीले दुई तस्वीर खिच्यौँ । तस्वीर लिएको एकछिन पछि एमाले नेताहरु बामदेव गौतम र राधाकृष्ण मैनाली पनि आउनु भयो । बामदेवले माधव कुमारलाई जुरुक्कै बोकेर भुँडीनेर पुर्याउँदापनि राधाकृष्ण मैनाली कै भूँडी अग्लो देखिन्थ्यो । त्यस्तो शालीन नेता माधव कुमारले कशरी एमाले जस्तो मजबुत घरलाई कमजोर बनाउँन चिरा पारेका होलान ? के केपी कै कारण देखाएर घर नै फोड्नु पर्छ र ? भन्ने प्रश्न अझै मेरो मनमा अनुतरित्त छ । हुन त सवभन्दा बढी आफ्नो घर कम्युनिष्ट नै फोड्ने नेपालमा प्रचलन छ । पूर्व प्रम गिरिजाप्रसाद कै कारण देखाएर पूर्व प्रम शेर बहादुरले फोडेको काँग्रेसको घर आखिरमा गिरिजाप्रसादले नै जोड्नु पर्यो । पञ्चहरुको घर पनि भत्कियो । केपी आफु अभिभावक हुँदा जोडिदै थपिदै गएको वाम घरलाई भत्कीनबाट जोगाउन नसश्क्नुले उहाँको एकल महत्वकांक्षी सोच र कठोर व्यवहार एवं बाह्य शक्तिको रणनीतिमा फुरुङ्ग परिहाल्ने बानी नै हो भन्ने पनि गरिन्छ ।
एक दिन अघिसम्म हामी लोकतचन्त्रबादी माओबादी चाहिँ आततायी तथा रक्तपिपाशु लोकतन्त्र विरोधी भन्ने नेकपा एकता केन्द्र–निर्मल लामा समूहका पुरै नेताहरु सहित एकता केन्द्रलाई रातारात माओबादीमा भित्राएर उनीहरुकै निर्देशनमा पार्टीलाई सञ्चालन गर्दै माओबादीका पुराना नेता मोहन बैध सहितका नेताहरुलाई मानमर्दन गरेर गलहत्याउने प्रचण्डलाई पनि सवैलाई समेटेर घर चलाउन नसक्ने नेताको रुपमा पनि चित्रण गरिन्छ भन्ने चर्चा सुनिएको नै हो । यी चर्चाहरु सत्य हुनकी असत्य हुन बहशको विषय हुन सक्छ । तालीम कै समयमा पूर्व सभामुख दमननाथ ढुङ्गाना र साहित्य लेखक एवं वरिष्ठ सञ्चारकर्मी किशोर नेपालको घर पनि हेर्न पाइएको थियो । अर्थात सानैमा केटाकेटीले बाहिर गएर पढ्नुपर्दा घर छोडेको अनुभूति गर्नु नपरोश भन्ने अभिभावकीय मनको सोचाइमा सकी नसकी दुखैले आफ्नै घरको आर्जन गरेका हुन्छन् । घर छोडेर अर्को स्थानमा पढ्नुपर्दा कतिपय केटाकेटी तनावको विरामी पनि भएको पनि पाइएको छ ।
पहाडमा पढ्दा भियतनाम बारे सुनेको भएता पनि प्यालेस्टाइनबारे सुनेको थिईन । महेन्द्र मोरङ्ग आदर्श बहुमुखी केन्द्रीय क्याम्पसमा पढ्दा विधार्थीहरुमा प्यालेस्टाइनबारे चर्चा हुन्थ्यो । शित युद्धको अशर हो की कसो काँग्रेसको भातृसङ्गठन नेपाल विधार्थी सङ्घ इजराली पक्षधर थिए भने बाम दलका आ–आफ्ना विधार्थी सङ्गठन चाहिँ प्यालेस्टाइनको पक्षमा चर्चा गर्दथे । जेरुसलम प्यालेस्टाइन भन्नाले पश्चिमी एसियाको भू–मध्य सागर र जोर्डन नदी वीचको भूक्षेत्र भन्ने बुझिन्छ । हाल यस क्षेत्रमा इजरायल र प्यालेस्टिनी भू–भाग पर्दछ जसमाथि प्यालेस्टाइन राज्यको घोषणा गरिएको छ । प्यालेस्टाइन संयुक्त राष्ट्र सङ्घ तथा अन्य संस्थाहरूद्वारा आधिकारिक रूपमा प्यालेस्टाइन राज्यको रूपमा मान्यता प्राप्त पश्चिम एसियामा अवस्थित एक सार्वभौम सम्पन्न राज्य हो। प्यालेस्टाइनले जेरुसेलमको साथ तोकिएको राजधानीको रूपमा पश्चिमी तट र गाजा पट्टी दावी गर्दछ।
भारतका चर्चित कवि–साहित्य लेखक गोरख पाण्डे को ‘प्यालेस्टाइन’ शीर्षकको पुरानो कविता पनि पढेको थिएँ । कविताका पंक्ति यस्ता थिए–“प्यालेस्टाइन एउटा पूरै भूभाग हो, र भूभागसँग समर्पित प्रेम । यसर्थ तिम्रो प्रहारबाट बाहिर छ । प्यालेस्टाइन स्वतन्त्रताको जरुरी भविष्य हो । जनरल १ प्यालेस्टाइन रगत र फलामबाट प्रष्फूटित गुलाब हो,कहिले नओईलाउने गुलाब । जो आखिरमा उम्रीने छ तिम्रो चिहान माथि ।”
हरेक राष्ट्रले आफ्नो स्वामित्वको स्वतन्त्र राष्ट्ररुपी घर नै होश भन्ने चाहन्छ । ५ करोड़ प्यालेस्टाइनीहरु एउटा हातमा जीवन अर्को हातमा मृत्यु बोकेर दशकौँ देखी आफ्नो घर आफ्नो राष्ट्रको लागि अझै युद्धरत छन् । यो युद्ध प्यालेस्टाइनको सडकहरु–गल्हिरु बाहेक कविता,कथा,किवन्दन्ती पेण्टिङ्ग र चलचित्रमा समेत लडिरहेका पाइन्छ । यसै सन्दर्भमा मलाई एउटा चलचित्रको सम्झना हुन्छ । ‘साल्ट ऑफ दिश सी’ आफ्नो एउटा घरको खोजिमा एक राष्ट्र । प्यालेस्टाइन ‘एन्नेमैरी जाकिर’ द्वारा निर्देशित यो यो पहिलो फिचर चलचित्रको कथा सामान्य छ । ब्रुकलिनमा जन्मीएकी शरणार्थी प्यालेस्टाइनी अमेरिकन ‘सोरैया’(सूहेइर हम्माद) अमेरिकाबाट आफ्ना पूर्वजहरुको भूमिमा भएको आफ्नो र्पुख्यौली घर खोज्दै हेर्न प्यालेस्टाइन आउँछिन ।
इजरायली विमानस्थलमा उत्रिनासाथ उनको अरवी थर देखेर हुनसक्छ उनलाई अत्यन्त दुख र झण्झट दिएर १०–१५ मिनट जाँचबुझ गर्दै आफ्नो घर किन आउनु परेको भनेर सोधिन्छ पनि । उनले रामाल्लाहमा आफ्नो साथीसँग बस्ने बताउँछिन । अर्थात अव इजरायलीको नजरमा उनी एक प्यालेस्टाइनी हुन्छिन ।
प्यालेस्टाइनमा सोरैयाको मित्रता आफ्नै देशमा एउटा ‘अपराधी’ जस्तो हालतमा बस्नु परेको नागरिक इमाद(सलेह बाकरी) र मार्वान(रियाद इदीयस) सँग हुन्छ । इमादसँग घुम्दै जाँदा एक्काशी इजरायली सुरक्षा कर्मीहरुले इमादलाई लाएको लुगा फुकाल्न लाउँछन र खानतलाशी लिन थाल्छन । यो देखेर सोरैया स्तब्ध हुन्छीन । ‘यस्तो खान तलाशी त यहाँ सामान्य हो सोरैया डराउनु पर्देन, यो तिम्रै सुरक्षाको लागि हो’ भन्दै इजरायली सुरक्षा कर्मीले इमादलाई सुनाएर भन्दा नेपालमा माओबादी द्वन्दको बेला सर्वसाधारणलाई सुरक्षा जवानहरुले खानतलाशीको नाममा दिएको दुखको पनि सम्झना हुन्छ । माओबादीहरुले पनि कतिपयलाई घर छोडेर जान बाध्य बनाएको भन्ने समाचारहरुको पनि सम्झना हुन्छ । सोरैया आफ्ना साथीसँग र्पुख्यौली घर खाज्दै जाँदा इजरायली परिवार हाल बसोबास गरिरहेको पाउँछिन । घरमा भएकी इजरायली केटीले राम्रो स्वागत गर्छिन । “ई.सं.१९४८ को ‘नकबा’ को बेला लाखौँ प्यालेस्टाइनीहरुलाई उठीबाश लगाएको हुँदा यो मेरो घर हो” भन्दै गर्दा स्वागत गर्ने केटीले ‘छोडदेउ पुराना कुरा,अव सम्झना नगर’ भनेर जवाफ फर्काए पनि ‘तिम्रो लागि उहिलेको कुरा भएपनि हामी दिनहूँ जसो भोगिरहेका छौँ’ भनेर सोरैया आवेशमा जवाफ दिन्छिन् । सोरैयाको प्रेरणाबाट इमाद पनि खण्डहर भै सकेको आफ्नो घरको खाजिमा लाग्छन् । इजराइलले यो पुरै क्षेत्रलाई ‘राष्ट्रीय संग्रहालय’ मा परिणत गरिसकेको हुन्छ । अव त्यहाँ,इजराइली शिक्षकहरु आफ्ना यहूदी विधार्थीहरुलाई ‘ओल्ड टेस्टामेंट’ अनुसार मानवको उत्पत्ति यही क्षेत्रबाट भएको थियो भनेर अवलोकन गराउन ल्याउँछन् । यो चलचित्र इजरायली र प्यालेस्टाइनीहरु बीचको युद्धको एक अङ्ग हो जस्तो लाग्छ । युद्धमा हरहमेशा अप्रत्याशित कुराको लागि तम्तयार हुनुपरे झैँ यो चलचित्रमा हाते कैमराबाट छायाँङ्कन गरिएको जस्तो लाग्छ । त्यसैले कैमरामैन बैनोइट कैमेलार्डले बोकेको कैमरा र पात्रको भित्री इच्छा मिले जस्तो लाग्छ । छायाँङ्कनको बेला उनले भौतिक अवरोधको सामना गरेको पो हुन की,प्राकृतिक प्रकाशलाई पनि उपयोग गर्न पाएका छैनन् की जस्तो लाग्छ । कुनै नागरिकको पहिचानलाई नै अपराधिकरण गर्दा पहिचानले नै बिष्फोटको रुप लिन सक्दो रहेछ भन्ने जस्तो लाग्छ यो चलचित्र हेर्दा । यसै सन्दर्भमा भारतको कश्मीरको बारेमा बशारत पीरको प्रसिद्ध पुस्तक ‘कर्फ्यूड नाईट’ को सम्झना हुन्छ । यस पुस्तकमा लेखक बशारत पीरले कश्मीरमा भारतीय सुरक्षा कर्मीले अत्यधिक खानतलाशी गर्दाको कारण ती सुरक्षा कर्मीमा उत्पन्न हुने एउटा ‘फ्रिस्किङ्ग डिजीज’ लाई प्रस्तुत गर्नु भएको छ । ‘सोरैया’(सूहेइर हम्माद) प्यालेस्टाइनीहरुको दुखको धुकधुकी समेटदै लेख्ने एक सशक्त कवियत्री पनि हुन ।
त्यसैले आफ्नै भोगाईको भावनामा लिप्त भएर जिवन्त अभिनय गरेकी हुन जस्तो लाग्छ । कायरोको अरव चलचित्र महोत्सव, बर्केलेको कैलिफोर्नीया थियटरमा पनि प्रदर्शन भैसकेको यो १५ बर्ष अघिको यो चलचित्र बारे सुन्दामात्रै पनि रेडियो नेपालमा हामी सानो छँदा खुव सुन्ने गरेको नातिकाजीको सङ्गितमा शिबशङ्करले गाउनु भएको–“हिमालमुनि हाम्रो घर पराले झुपडी दाजु पराले झुपडी” गीत गुनगुनाउँदै भारतीय कवि देवीप्रसाद मिश्रको “बस्नको लागि प्यालेस्टाइन भन्दा राम्रो कुनै देश लाग्दैन” भन्ने कविताको एक एक पंक्ति पनि वाचन गर्न मन लाग्छ । र अन्त्यमा, “चन्द्रमामा पुगेको सुख तथा आनन्द जति सुकै धेरै भएपनि आफ्नो घरमा पुग्दाको सुख एवं आनन्द भन्दा चाहिँ थोरै नै हुन्छ ”भनेर चन्द्रमाबाट फर्केर आएपछि अमेरिकी अन्तरीक्ष यात्री नील आर्मस्ट्राङ्गले सञ्चारकर्मीहरुबाट सोधीएको एक जिज्ञाशाको उत्तरमा दिएको जवाफलाई सम्झेर अहिले हामी नेपालीको आफ्नो घर ‘नेपाल’लाई एकताबद्ध भएर संरक्षण गर्न आवश्यक छ । किनकी नील को स्थानमा कुनै प्यालेस्टाइनी नै भएको भएपनि नील आर्मस्ट्राङ्ग कै जवाफ पाइन्थ्यो होला । विश्वका महा शक्तिहरु आ–आफ्नो बर्चश्व कायम गर्न प्यालेस्टाइन वा सिरिया होश वा लेवनान सवैतिर निर्दोष नागरिकलाई घरबार विहनि बनाउन होडबाजी गरिरहेका देखिन्छन ।
(छविचित्र श्रेय ः सङ्गीता रोय,भारत–पैलिष्टाइन गाजा स्ट्रीपका नानीहरु,३० जुन ईं.सं.२०२३ । किशान पत्रिका मार्फत दिगम्बरज्यू,भारत ,०२ जुलाई ईं।सं।२०२३ । ट्रिगोन फिल्म डट ओआरजी–साल्ट अफ दिश सी–मिल्ह हाधा अल–बहर । मुबी,एनपीआर–इयान बक वाल्टर–लगबर फिल्मस–चलचित्रका कलाकार ,१२ अगष्ट ई.सं.२०१० मार्फत गुगल इन्टरनेट ०३–०४ अक्टोवर,ई.सं.२०२३ समय साँझ ५।३७ तथा विहान ८।१९ बाँकी तस्वीरहरु लेखक स्वयंबाट ।)