भोलि प्रधानमन्त्री प्रचण्ड भूकम्पले प्रभावित क्षेत्र बझाङ जादै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्पले प्रभावित बझाङ जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड भोली (शुक्रबार) बझाङ जाने तयारी गरेको उनका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डले आज (बिहीबार) विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन परिषद्को बैटकमा बझाङ, बाजुरा लगायत जिल्लाका भूकम्प पीडितलाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुननिर्माण प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका थिए । प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपदले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको बताएका थिए। उनले सरकारका तर्फबाट राहत, उद्धार, उपचार, पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिन पनि निर्देशन दिएका थिए।
बझाङमा मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको पहिलो भुकम्प गएको थियो । त्यसपछि बझाङमा पटकपटक पराकम्पन आएका थिए। जसकारण एक जनाको मृत्यु, केही घाइते र घर तथा विद्यालय भवनलगायत संरचनामा क्षति पुगेको छ । भूकम्पले बझाङका तलकोट, मस्टा, खप्तडछान्ना, जयपृथ्वी नगरपालिका, सुर्मा, छविसपाथिभेरा, दुर्गाथली, थलारा, केदारस्यु, वित्थड, बुङगललगात पालिका तथा सुदूरपश्चिमका विभिन्न जिल्लामा घरहरू क्षति भएको छ। २१ सामुदायिक भवन, अधिकांश सामुदायिक विद्यालयमा क्षति पुगेको बताएको छ।