आईसीसी एकदिवसीय विश्वकप : अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच भिडन्त
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपमा बिहीबार दुई बलिया टेष्ट राष्ट्र अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच भिडन्त हुने भएको छ । लखनउमा खेलिने उक्त दिवा—रात्रि खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजेबाट सुरु हुनेछ ।
अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिचको उक्त भिडन्तसँगै जारी विश्वकपमा दोस्रो चरणको खेल पनि सकिने छ । जारी विश्वकपको आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको थियो भने अस्ट्रेलियाले हार भोगेको थियो । दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई एक सय दुई रनले हराएको थियो । अस्ट्रेलिया भने आफ्नो पहिलो खेलमा आयोजक राष्ट्र भारतसँग ६ विकेटले पराजित भएको थियो । त्यसैले बिहीबार हुने खेलमा अस्ट्रेलिया पहिलो जितको खोजीमा हुनेछ भने दक्षिण अफ्रिका दोस्रो सफलताको प्रयासमा रहने छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०द्वारा जारी गरिएको पछिल्लो एकदिवसीय वरीयतामा अस्ट्रेलिया तेस्रो र दक्षिण अफ्रिका चौथो स्थानमा छन् । एकदिवसीय विश्वकपमा अस्ट्रेलियाको १३औँ सहभागिता हो भने दक्षिण अफ्रिकाको नवौँ सहभागिता हो । एकदिवसीय विश्वकपमा उपलब्धिको हिसाबले भने दक्षिण अफ्रिकाभन्दा अस्ट्रेलियाली टोली निकै बलियो देखिन्छ । अस्ट्रेलियाले सर्वाधिक पाँच पटक एकदिवसीय विश्वकपको उपाधि जितेको छ । अस्ट्रेलियाले सन् १९८७, सन् १९९९, सन् २००३, सन् २००७ र सन् २०१५ मा विश्वकप जितेको थियो ।
यसदेखि बाहेक अस्ट्रेलिया सन् १९७५ र सन् १९९६ मा विश्वकपको फाइनलसम्म पुगेको थियो । तर, दक्षिण अफ्रिकाले हालसम्म विश्वकपको उपाधि उचाल्न सकेको छैन । अर्कोतिर, यी दुई राष्ट्रबीच हालसम्म खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको तथ्याङ्कलाई हेर्दा भने अस्ट्रेलियाभन्दा दक्षिण अफ्रिका केही बलियो देखिन्छ । हालसम्म यी दुई राष्ट्रले आपसमा एक सय आठवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।
त्यसमध्ये ५४ खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हराएको छ । ५० वटा खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पराजित गरेको छ । यी दुई राष्ट्रबीचको एक खेल अनिर्णीत रूपमा सकिएको छ भने तीन खेल बराबरीमा टुङ्गिएको छ । आफ्नो घरेलु मैदानमा खेलिएको २८ वटा खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हराएको छ । अस्ट्रेलियाले भने आफ्नो घरेलु मैदानमा खेलिएको १९ वटा एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।
जारी विश्वकपको पहिलो खेलको नतिजालाई हेर्दा अस्ट्रेलियाको तुलनामा दक्षिण अफ्रिकाको ब्याटिङ उत्कृष्ट देखिएको छ । श्रीलंकाविरुद्ध खेलिएको खेलमा दक्षिण अफ्रिकाका तीन ब्याट्सम्यानले शतक प्रहार गरेका थिए । त्यो खेलमा दक्षिण अफ्रिकाका क्विन्टन डी ककले केवल ८४ बलमा एक सय रन बनाएका थिए । रासी भान डेर डुसेनले एक सय १० बलमा एक सय आठ रन बनाएका थिए । एडन मारक्रमले पनि आक्रामक ब्याटिङ गर्दै केवल ५४ बलमा एक सय ६ रन बनाएका थिए ।
यसको विपरीत भारतविरुद्धको आफ्नो पहिलो खेलमा अस्ट्रेलियाको ब्याटिङ र बलिङ दुवै निकै फितलो देखिएको थियो । भारतविरुद्ध अस्ट्रेलियाका कुनै पनि ब्याट्सम्यानले अर्धसतकसम्म बनाउन सकेका थिएनन् । सिङ्गो अस्ट्रेलियन टोली ४९।३ ओभरमा एक सय ९९ रनमा समेटिएको थियो । यो सबै कुरालाई हेर्ने हो भने आजको सो भिडन्त निकै रोचक हुने देखिएको छ ।