कोशीमा गुम्यो कांग्रेसको हातबाट सरकारको नेतृत्व, आङ्बो मुख्यमन्त्री बन्ने

काठमाडौं । कोशी प्रदेशमा सरकारको नेतृत्व गर्नबाट नेपाली कांग्रेस चुकेको छ । त्यहाँ शुक्रबार माओवादीका इन्द्र आङ्बोले मुख्यमन्त्री दाबी पेस गर्दैछन् ।

सत्तारुढ गठबन्धनको बिहीबार बसेको बैठकले आङ्बोलाई प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेपछि कांग्रेसबाट मुख्यमन्त्री बन्ने सम्भावना समाप्त भएको हो । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कांग्रेसकै प्रस्तावमा माओवादीका आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन लागिएको बताएका छन् ।प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठनका लागि असोज २६ गते साँझ ५ बजेसम्मको समय सीमा दिएका छन् । बहुमत पुर्‍याउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिएका थिए ।

अब गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मात्र कांग्रेसको नेतृत्वमा सरकार छ । बागमती र कर्णालीमा सरकारको नेतृत्व गरेको माओवादीले अब कोशीमा पनि मुख्यमन्त्री पाउने भएको हो । यसअघि कांग्रेसका उद्धव थापा दुईपटक मुख्यमन्त्री बनेका थिए । तर दुवैपटक सरकार एक महिनामै ढलेको थियो ।

कोशी प्रदेशसभा ९३ सदस्यीय छ । बहुमतका लागि कम्तीमा ४७ जना प्रदेशसभा सदस्यको साथ चाहिन्छ । कोशीमा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीको एकजना सांसद छन् । सभामुख पाउने आशमा राप्रपाले माओवादीका आङ्बोलाई विश्वासको मत दिने बुझिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *