नेकपा एमाले सुदूरपश्चिम : अध्यक्षमा कृष्णप्रसाद जैसी अन्य पदाधिकारी सर्वसम्मत चयन

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा कृष्णप्रसाद जैसी सर्वसम्मत चयन भएका छन् ।

अध्यक्ष पदमा मनोयन दर्ता गराएका निवर्तमान उपाध्यक्ष कमलप्रसाद तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि जैशी सर्वसम्मत चयन भएका हुन् । त्यस्तै अन्य पदाधिकारीहरु पनि सर्वसम्मत भएका छन् । उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही सर्वसम्मत भएका छन् । हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, हजारीसिंह साउद र गजेन्द्र बहादुर शाहीले उम्मेदवारी फिर्ता लिएपछि शाही सर्वसम्मत भएका हुन् । सचिवमा कैलालीका रणबहादुर चन्द पनि सर्वसम्मत चयन भएका छन् । सचिवका प्रत्यासी राजेश खाती, जीवनबहादुर बम र रतनबहादुर रेग्मीले उम्मेदवारी फिर्ता लिएपछि चन्द पनि सर्वसम्मत भए । उपसचिव (खुला)मा नरबहादुर बिश्वकर्मा र उपसचिव (महिला) मा भागिरथी बिष्ट सर्वसम्मत भएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि निर्वाचन प्रक्रिया लम्ब्याएर मंगलबारदेखि नेताहरूले सर्वसम्मतिको प्रयास गरेका थिए । विभिन्न पदमा आकांक्षा राखेका उम्मेदवारहरूलाई अन्यत्र व्यवस्थापन गर्ने आश्वासनसहित उम्मेदवारी फिर्ता गराइएको स्रोतले बतायो । अन्तिम समयमा नेता भीम रावल निकट मानिएका अध्यक्ष पदका उम्मेदवार भरत साउदले उपसचिवमा आफू निकट नरबहादुर विकका नाममा सहमति खोजेका थिए । नेताहरूले विकका नाममा सहमति गरेपछि सबै पदाधिकारी सर्वसम्मत चयन हुने अवस्था आएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *