कांग्रेस बैठकमा कोइराला अनुपस्थित


काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि पार्टीभित्र विद्रोह गरेपछि आगामी रणनीति तय गर्ने बसेको बैठकमा नेता शेखर कोइराला अनुपस्थित भएका छन् । पार्टीको कार्यसम्पादन समितिको बैठकमा कोइराला अनुपस्थित भएपछि शनिबार बिहानसम्म छलफलका लागि उनलाई पर्खिने निर्णय भएको छ । कांग्रेस बैठकमा कोइराला गएनन्, मुख्यमन्त्रीमा कार्कीको विकल्प खोज्न तयार भएनन् । सत्ता गठबन्धनको शुक्रबारको बैठकमा पार्टी भित्रको विभाजन र गठबन्धनको एकताका लागि मुख्यमन्त्रीमा दाबी गरेका केदार कार्कीलाई पछि हटाउने नेताहरुले आग्रह गरेका थिए । तर कोइरालाले उनलाई पछि नहटाउने अडान लिएपछि कांग्रेसको कार्य सम्पादन समितिको बैठक बसेको थियो । उक्त बैठकमा कोइराला गएनन् । गठबन्धन पनि जोगाउनुपर्ने भएकाले गठबन्धनले अघि सारेका व्यक्तिलाई नै समर्थन गर्न भनियो उहाँ मान्न भएन कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने गठबन्धन जोगाउनका लागि कांग्रेसकै व्यक्तिमा सर्वसम्मत हुन्छ भने त्यसका लागि तयार रहेको प्रधानमन्त्रीले पनि बताउनु भएको थियो । तर शेखर कोइरालाले त्यो पनि मान्नु भएन । यी दुवै विकल्प मान्न तयार नभएपछि बैठक बसेको थियो । प्रधानमन्त्री दाहालले मुख्यमन्त्री चयनमा कांग्रेसभित्र असन्तुष्टि देखिएकाले आफ्नो दलको उम्मेदवारलाई फिर्ता गरिदिने र कांग्रेसबाटै सहमतिमा उम्मेदवार चयन गर्न सुझाएका थिए ।

दाहालको सुझावपछि बैठकमै देउवाले कोइरालाई कांग्रेसका तर्फबाट केदार कार्कीबाहेक अर्को व्यक्तिलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए । ‘बालुवाटारको बैठकमा सँगै थियौँ । त्यसपछि उहाँ यता आउँछु भन्नुभयो, तर आउनुभएन, कोइरालालाई पर्खिएको विषय उल्लेख गर्दै विश्वकर्माले भने, अहिले देखिएको समस्या हल गर्न गठबन्धनबाटै मुलतः दुई वटा प्रस्तावमाथि छलफल भयो, तर उहाँले मान्नुभएन । उनकाअनुसार गठबन्धनका अन्य दलहरू पहिल्यै सहमति भएबमोजिम कोशीको मुख्यमन्त्री कांग्रेसलाई दिन तयार भए । तर कांग्रेसभित्रै सर्वसम्मत उम्मेदवारको टुंगो लागेन । ‘सभापतिजीले बैठकमै शेखर कोइरालालाई अहिले पार्टी निणर्य विपरीत दाबी पेश गर्नुभएका केदार कार्कीलाई फिर्ता गराएर अर्को सर्वसम्मत उम्मेदवारको नाम दिन प्रस्ताव गर्नुभयो, तर उहाँले नाम दिनुभएन,’ उनले भने, ‘अर्को भनेको अहिले गठबन्धनको निणर्यबमोजिम नै मुख्यमन्त्री बनाउने विषयमा पनि छलफल भयो, त्यसमा पनि सहमति हुन सकेन ।

पार्टी र गठबन्धनको निर्णय विपरीत कोशी प्रदेशमा आठ जना सदस्यले फरक ठाउँमा हस्ताक्षर गरेका थिए । उहाँहरूलाई शेखर कोइरालाले नै हस्ताक्षर गर्नका लागि सहयोग पुर्‍याएको भन्ने हाम्रो निष्कर्ष छ,’ नेता विश्वकर्माले भने, ‘अब गठबन्धन पनि जोगाउनु छ, कोशी प्रदेशमा मध्यावधि हुनबाट पनि जोगाउनु पर्नेछ । यी दुवै कुरालाई ख्यालमा राखेर गठबन्धन र पार्टीभित्र छलफल सुरु भएको छ । उनले कोइरालाले पार्टीबाटै अर्को व्यक्तिलाई उम्मेदवार बनाउने गरी नाम दिए अझैपनि सहमति बन्न सक्ने बताए । कोइरालाको थप विकसित धारणा आइसकेपछि शनिबार त्यसबारे थप छलफल हुने उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *