शुभकामना साकोसको २३औं बाषिक साधारण सभा सम्पन्न
भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाको २३औं बाषिक साधारणसभा संस्थाका अध्यक्ष रामप्रसाद कासुलाको अध्यक्षता र भक्तपुर क्षेत्र नं २ का संघिय सांसद दुर्लभ थापाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको छ । सभामा शुभकामना मन्तब्य राख्दैं थापाले सहकारी मुल्य मान्यता र सिद्धान्त अनुसार सञ्चालन भएर शुभकामना साकोसले सदस्यको जीवनस्तर परिवर्तन सकेकोमा खुलेर प्रशंशा गरे । पछिल्लो समय सहकारीमा विकृति मौलाएको भन्दै उनले जुनुसुकै संस्थामा सदस्य नबन्न सुझाए । सभामा अध्यक्ष कासुलाले ‘आजको आवश्यकता सुरक्षित लगानी, सुरक्षित लगानीको लागि शुभकामना’ भन्ने नारा सहित संस्थाले सदस्यको बचतको सुरक्षाको प्रत्याभूति गरी सदस्य केन्द्रीत विभिन्न कार्यक्रम गर्दै आएको बताए । कतिपय सहकारी संस्थाले तरलता लगायतको समस्या भोगिरहेको अवस्थामा संस्थाले भने सदस्यको आवश्यकता अनुसार जतिसुकै रकम झिक्न सक्ने व्यवस्था मिलाएको उनको भनाई छ । केही व्यक्तिवादी र सुशासनमा नचेलका सहकारी संस्थाका कारण सहकारीप्रति सदस्यको विश्वास घटेकाले समुदायमा चलेका सहकारी संस्थालाई पनि त्यसको सामान्य प्रभाव परेको उनले बताए । सदस्यलाई वित्तीय साक्षरताका माध्यमबाट संस्थाको सम्पुर्ण गतिविधिहरुको बारेमा जानकारी दिँदै आएको र संस्था पूर्ण रुपमा सुरक्षित रहेको उनको भनाई छ । संस्थाले ऋण लगानी गर्दा सदस्यको आयश्रोत, धितो सुरक्षंण र संस्थाप्रतिको सोच तथा व्यवहारलाई विश्लेषण गरी लगानी गर्दै आएको उनले सभामा जानकारी दिए । संस्थाका सचिव पुष्पलाल तिमिलाले आर्थिक वर्ष २०७९।८० को बार्षिक प्रगति प्रतिवेदन तथा आगामी वर्षको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेको थिए । संस्थाले गत आर्थिक बर्षमा मिठाई बनाउने तालिम, नि ःशुल्क दन्त शिविर, शिक्षा शिविर तथा रक्तदान, बृहत्त सहकारी साईकल र्याली, वृक्षारोपण, हाडजार्नेनी तथा नशा रोग सम्बन्धि स्वास्थ्य शिविर, जेष्ठ नागरिक भ्रमण जस्ता थुप्रै गतिविधिहरु गरेको उनले जानकारी गराए ।
चालु आर्थिक बर्षमा संस्थाको जगेडा कोष वृद्धि गरी १० प्रतिशत पुर्याउने, बचतका २४ वटा प्रडक्ट सञ्चालनमा ल्याउने र त्यसलाई प्रभावकारी बनाउन घर दैलो कार्यक्रम गर्ने, कृषि सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने र कृषक सदस्यको लागि मलखादको व्यवस्था गर्ने योजना अगाडि सारेको छ । संस्थाका सञ्चालक धर्मरत्न शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक बर्षको असार मसान्तसम्म शेयर पुँजी १० करोड ७० लाख ३९ हजार , जगेडा तथा अन्य कोषमा १६ करोड २२ लाख ९४ हजार, बचत संकलन ९२ करोड ६४ लाख ८९ हजार, ऋण लगानी ९५ करोड ४ लाख गरी कुल सम्पत्रि १ अर्ब २७ करोड ७४ लाख पुगेको सभामा जानकारी दिए । संस्थाले त्यस अवधिमा खुद नाफा २ करोड ६० लाख आर्जन गर्न सफल भएको छ । सभामा नेफ्स्कुनकी सञ्चालक मन्दिरा मिश्र, भक्तपुर जिल्ला बचत संघका उपाध्यक्ष हरि वल्ल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले शुभकामना मन्तब्य राखेका थिए । सो अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत ८, १० र १२ कक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई छात्रवृत्ति र सम्मान प्रदान गरेको छ भने आगामी वर्षदेखि एमडी र पिएचडी गर्नेहरुलाई पनि सम्मान र पुरस्कार प्रदान गर्ने जानकारी दिइयो । सभाले ज्येष्ठ सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।