लाओसलाई हराउँदै नेपाल विश्वकपको दोस्रो चरणमा


काठमाडौं । मनिष डाँगीको उत्कृष्ट प्रदशर्नमा गरेको एक मात्र गोलले लाओसलाई पराजित गर्दै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । लाओसको मैदानमा मंगलबार भएको दोस्रो लेगको खेलमा नेपालले लाओसलाई १ ० ले पराजित गर्दै समग्रमा २ १ ले विजयी भएको हो । यसअघि बिहीबार काठमाडौंको दशरथ रंगशालमा भएको पहिलो लेगको खेल १ १ को बराबरीमा सकिएको थियो । नेपाली फुटबलकै भविष्यसँग जोडिएको दोस्रो लेगको खेलमा प्राप्त विजयले नेपाली फुटबलमा ठूलो राहत मिल्नेछ । अब नेपालले छनोटको दोस्रो चरणमा समूह जी मा युएई, बहराइन र यमनसँग होम एण्ड अवे गरेर ६ खेल खेल्न पाउने छ । यसअघि नै भएको दोस्रो चरणको ड्र मा यस समूहमा युएई र बहराइन थिए । यमन भने पहिलो चरणमा श्रीलंकालाई समग्रमा ४ १ ले पराजित गर्दै दोस्रो चरणमा पुगेको हो । लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियममा आज मंगलबार भएको खेलमा नेपालका लागि मनिष डाँगीले दोस्रो हाफमा निर्णायक गोल गरेका थिए । उनले ५२औं मिनेटमा अन्जन विष्टको पासमा सिक्स यार्ड बक्सबाट वान टचमा गोल गरेका थिए । त्यसअघि पहिलो हाफमा दुवै टोलीले केही अवसर बनाएपनि फिनिसिङ गर्न नसक्दा अग्रता लिने अवसर गुमाएका थिए । खेलमा पहिलो अट्याकले लाओसले गरेको थियो । १८औं मिनेटमा लाओसका मिकाइल भाङको प्रहार नेपालका गोलकिपर किरण कुमार लिम्बुले बचाएका थिए । २२औं मिनेटमा नेपाल गोलको नजिक पुगेको थियो ।

तर उत्सव राईले एरिक विष्टको क्रसमा पेनाल्टी बक्सबाट गरेको हेडर क्रस बारमाथिबाट बाहिरिएको थियो । ३९औं मिनेटमा लाओसका चोनी वेनपासेरथले पेनाल्टी बक्सबाट गरेको प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो । ४८औं मिनेटमा मनिष डाँगीले सनिश श्रेष्ठको पासमा पेनाल्टी बक्सको एजबाट प्रहार गरेको बल थोरैले पोष्ट भन्दा बाहिर गएको थियो । ६५औं मिनेटमा मनिष डाँगीले करिब २५ यार्डबाट हानेको लामो प्रहार लाओसका गोलकिपरले बचाएका थिए । ७२औं मिनेटमा नेपालका जिलेस्पी जंग कार्कीले अग्रता दोब्बर पार्ने अवसर गुमाए । उनले नजिकैबाट प्रहार गरेको हेडर पोष्ट नजिकैबाट बाहिरियो । नेपालका कप्तान किरणले इन्जुरी टाइममा लाओसका काएडाभोन सौभानीको हेडर उत्कृष्ट बचाउ गर्दै नेपालको संकट टारेका थिए । यसै खेलबाट डिफेण्डर अमृत श्रेष्ठले नेपालका लागि डेब्यु गरेका छन् । पहिलो पटक सिनियर टिममा स्थान बनाएका अमृत इन्जुरी टाइममा फरवार्ड जिलेस्पीजंग कार्कीको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । दोस्रो चरणमा ६ खेल खेल्ने अवसर पहिलो चरण पार गरेपछि नेपाली फुटबल टोलीले अब विश्वकप छनोटको दोस्रो चरणमा ६ खेल खेल्न पाउनेछ । दोस्रो चरणमा एसियाका शीर्ष २६ वरियतामा रहेका टोलीसँगै पहिलो चरण पार गरेका १० गरी कूल ३६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा सहभागि टिमलाई ९ समुहमा विभाजन गरिनेछ । हरेक समूहमा चार टोली हुनेछ । जसमा हरेकले एक अर्कासँग होम एण्ड अवेका आधारमा दुई(दुई खेल खेल्नेछ । दोस्रो चरणमा नेपालको भेट युएई, बहराइन र यमन हुनेछ ।

तीनवटै टोलीसँग नेपालले होम एण्ड अवेका आधारमा दुई दुई खेल खेल्नेछ । नेपालले युएईसँग अहिलेसम्म जम्मा एक खेल खेलेमा पराजित भएको छ भने बहराइन विरुद्ध अहिलेसम्म खेलेको छैन । यमन विरुद्ध ४ खेल खेल्दा नेपाल जितविहीन छ । यमनले तीन खेलमा नेपाललाई हराउँदा एक खेल बराबरीमा सकिएको थियो । दोस्रो चरणको खेलहरु आगामी नोभेम्बरदेखि नै सुरु हुनेछ र २०२४ को जुनसम्म सञ्चालन हुनेछ । अब नेपालले अर्को ८ महिना छनोट अन्तर्गत अन्तर्राष्ट्रिय फुटबल खेल्न पाउनेछ र यस बीचमा मैत्रीपूर्ण खेल समेत खेल्ने सम्भावना रहन्छ । दोस्रो चरणमा ९ समूहबाट समूह विजेता र उपविजेता हुने दुई दुई गरी कूल १८ टोली विश्वकप छनोटको तेस्रो चरणमा पुग्नेछन् र २०२७ को एसियन कपमा पनि सिधै छनोट हुनेछन् । यस्तै दोस्रो चरणमा राम्रो प्रदर्शन गर्न सके विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने र एसियन कपमा ऐतिहासिक छनोट हुने अवसर समेत नेपाललाई हुनेछ । त्यसको लागि भने नेपाली फुटबलले धेरै मिहिनेत गर्नुपर्नेछ र लामो यात्रा तय गर्नुपर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *