उपत्यकामा प्रहरीको गस्ती, ड्रोनबाट निगरानी
काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीले चाडपर्वमा उपत्यकाको सुरक्षा अवस्था मजबुद पार्न विशेष सुरक्षा योजना ल्याएको छ । जसअन्तर्गत प्रहरीले बिहानदेखि रातिसम्म नै गस्ती गर्ने गरेको छ । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापाका अनुसार दसैँ तिहार लगायतका चाडपर्व सुरक्षित पार्न विभिन्न ठाउँको सीसीटीभीमार्फत निगरानी गर्नेदेखि गस्ती समेत बढाइएको हो । त्यस्तै, काठमाडौं भित्रिने र बाहिरिने नाकाहरूमा चेकिङमा समेत कडाइँ पारिएको छ ।
उपत्यकाको सुरक्षाको लागि रानीपोखरीले नियमित ड्युटीमा रहेको बाहेक थप सात हजार प्रहरी परिचालन गरिएको एआईजी थापाको भनाइ छ । जसमध्ये एक हजार ४५ गस्ती टोली हुने उनले बताए । प्रहरीले ललितपुरमा दसैँमा कुनैपनि आपराधिक घटना हुन नपाओस् भनेर ड्रोनमार्फत समेत निगरानी गर्न थालेको छ । विभिन्न भिडभाड हुने क्षेत्र र धार्मिक स्थलहरूको निगरानीको लागि ड्रोन मार्फतसमेत निगरानी बढाइएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए । ड्रोनबाहेक अपराध अनुसन्धानमा खटिने तालिम प्राप्त कुकुरसमेत परिचालन हुने उनको भनाइ छ । ललितपुर प्रहरीले नियमित ड्युटीमा खटिने प्रहरीबाहेक थप एक हजार ५ सय प्रहरी परिचालन गरिएको एसएसपी शाहले बताए ।