२०औं हस्तकला ब्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिता मंसिरमा हुने


काठमाण्डौं । आगामी मंसिर ७ देखि ११ गतेसम्म होटेल डेल अन्नमपूर्ण, दरबारमार्ग, काठमाडौंमा २०औ हस्तकला व्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिता हुने भएको छ । नेपाल हस्तकला महासंघले पत्रकार सम्मेलनको आयोजना गरी मेलाको बारेमा जानकारी दिएको हो । मेलामा हस्तकलाका वस्तुहरुको करिब १५० वटा स्टलहरु रहने छन् । मेलामा रहने स्टलहरु मध्येबाट उत्कृष्ट हुने एक स्टललाई आकर्षक नगद पुरस्कारको पनि ब्यवस्था गरिएको छ । मेलामा विदेशी प्रदर्शनीकर्तामा भारत, चीन, पाकिस्तान, बंगलादेश आदि देशका व्यापारीहरुको सहभागिता रहने छ भने व्यापार मेलामा महासंघका सदस्यहरु तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरु, जिल्ला हस्तकला संघ र बस्तुगत संघहरु समेतको सहभागिता रहने छ ।मेलामो विभिन्न स्टलमा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु लगायत अन्य हस्तकलाका सामग्री प्रर्दशनी तथा विक्रीमा राखिने छन्। नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल एकिकृत व्यापार रणनीति कार्यक्रम भित्र समावेश हस्तकलाका वस्तुहरुलाई मेलामा विशेष रुपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ । त्यसैगरि मेलामा महिला र समाजमा पछाडि परेका वर्गलाई निशुल्क स्टल प्रदान गरिने आयोजकले जनाएको छ । उक्त मेलाको प्रमुख आर्कषणको रुपमा रहेको १८औं संस्करणको हस्तकला प्रतियोगिता(जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी) अन्तर्गत (क) परम्परागत विधा तर्फ “पौभा” र ख समसामयिक विधा तर्फ “छ्वाली कला” मा प्रत्यक्ष रुपमा जीवन्त प्रदर्शनी गरी १८औ हस्तकला प्रतियोगिता संचालन गरिने कार्यक्रम रहेको छ । सो प्रतियोगितामा प्रति विधा न्यूनतम १५ जनाको सहभागिता रहने छ । साथै यस प्रतियोगितामा उत्कृष्ट घोषित ३ जना कलाकारहरुलाई नगद पुरस्कार प्रथम पचास हजार, द्वितीयः तीस हजार र तृतीय बीस हजार तथा प्रतियोगितामा सहभागी सम्पूर्ण कलाकारहरुलाई प्रमाण पत्र प्रदान गरिने छ । साथै मेलाको अवसरमा आर्थिक वर्ष २०७९।८०को लागि नेपाली हस्तकला उद्योग व्यवसायको विकास, विस्तार तथा प्रबद्र्धनमा निरन्तर क्रियाशील भई विशेष योगदान पु¥याउनु हुने उत्कृष्ट उद्यमी, उत्कृष्ट निकासीकर्ता र उत्कृष्ट कलाकारलाई सम्मान गरिने छ ।

यसै गरि महासंघका एक उत्कृष्ट उद्यमी र एक उत्कृष्ट कलाकारलाई पनि मेलाको अवसरमा सम्मान प्रदान गरिने छ । मेलाको तेस्रो दिन ७० वर्ष नाघेका वरिष्ठ जेष्ठकलाकारलाई सम्मान गर्ने कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा १० जना जेष्ठ तथा वरिष्ठ कलाकारहरुलाई सगुन दिई चाँदीको फ्रेम सहित ताम्रपत्रबाट सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । मेलाकै सन्दर्भमा हस्तकलाका विविध बिधामा संलग्न कलाकारहरुको प्रतिभा पहिचान गराउने र कलाकारहरुको व्यापार ब्यवसायलाई प्रवद्र्धन गराउने उद्देश्यले महासंघको कला प्रदर्शनी समितिबाट कला प्रदर्शनी २०८० आयोजना गरिने भएको छ । उक्त प्रदर्शनीले हस्त निर्मित विविध कलाकृतिहरु प्रदर्शन गरी स्वदेशी तथा विदेशी कलाकार, व्यापारीहरु एवं आगन्तुक महानुभावहरु बीचमा परिचित गराउने उद्देश्य लिएको छ भने सो प्रदर्शनीमा राख्ने कलाकृतिहरुको प्रचार प्रसार गर्न कलाकारहरुको विवरण सहितको पुस्तिका पनि सो समितिबाट प्रकाशन गरिने कार्यक्रम रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *