एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधन
काठमाण्डौं । एभरेष्ट बैंकका अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको लामो समयदेखि बिमारी भएर ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको निधन भएको छ । ९४ वर्ष उमेर पुगेका श्रेष्ठले लामो समयदेखि एभरेष्ट बैंकको अध्यक्ष सम्हालेका थिए । उनले विदेशी पञ्जाब नेशनल बैंकलाई ज्वाइन्ट भेन्चरको रुपमा भित्र्याउन सफल भएका थिए । स्वर्गीय श्रेष्ठका २ छोरी र एक छोरा रहेका छन् । मंगलबार नै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको थियो । जीवनको अन्तिम अवस्थासम्म पनि बैंक हाँकेका श्रेष्ठ निर्णय क्षमता भएका व्यक्ति थिए । श्रेष्ठको निधनले नेपालको बैंकिङ क्षेत्रले एउटा अभिभावक गुमाएको छ ।
श्रेष्ठले गत वर्ष मंसिरको साधारणसभामा बोल्दै आफू बिमारी भएपनि बैंक स्वस्थ भएको बताएका थिए । श्रेष्ठको अन्त्येष्टि उनको इच्छाअनुसार एभरेष्ट बैंकले नै सञ्चालनमा ल्याएको कम दाउराले शव जलाइने प्रविधि (वुडन क्रिमेटरी) बाट भएको थियो । यो वुडन क्रिमेटरी शव जलाउन १०० केजी दाउराले पुग्ने र त्यसक्रममा निस्कने धुवालाई प्रदूषण रहित बनाएर वातावरणमा छोड्ने प्रविधि हो । श्रेष्ठ २६ वर्षदेखि बैंकमा अध्यक्षको रूपमा रहेका थिए । २०५४ सालदेखि श्रेष्ठले बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । गत असोज ३० गतेको बैंकको २९ औं वार्षिक साधारण सभाले पनि श्रेष्ठलाई अध्यक्षको रूपमा चयन गरेको थियो। उनले यो कार्यकाल आफ्नो अन्तिम कार्यकाल हुनेसमेत घोषणा गरेका थिए । ललितपुरमा जन्मिएका श्रेष्ठले अमेरिकाबाट एमबिए गरेका थिए। उनी एसबिएल प्रालि भारतका समेत अध्यक्ष थिए। एसबिएल विश्वस्तरीय होमियोपेथी सम्बन्धि औषधि उत्पादक कम्पनी हो ।