राष्ट्रियसभाका सांसदहरु कोको हुदैछन् पदमुक्त
काठमाडौं । आगामी फागुन २० गतेबाट राष्ट्रियसभाका २० सांसदको पदमुक्त हुँदै छ । राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल ६ वर्षको हुन्छ । तर, प्रत्येक एक तिहाइ सदस्यको कार्यकाल दुई वर्षमा सकिने प्रावधान अनुसार राष्ट्रियसभाका २० सांसदको पदावधि आगामी फागुन २० गतेबाट सकिने भएको हो ।
पदावधि सकिनेमा नेकपा एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसद रहेका छन् । जसमा राष्ट्रियसभाका अध्यक्ष, राज्यमन्त्री, विभिन्न पार्टीका संसदीय दलका पदाधिकारी समेत रहेका छन् ।
एमालेबाट पदमुक्त हुने सांसदहरु
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना
प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ
इन्दु कडरिया
कुमार दसौँदी
दीपा गुरुङ
दिलकुमारी रावल थापा (पार्वती)
नरपति लुवार
रामचन्द्र राई
विमला राई पौड्याल रहेका छन् । दिलकुमारी राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति हुन् भने विमला राष्ट्रपतिबाट मनोनीत सदस्य समेत हुन् ।
कांग्रेसबाट पदमुक्तहुने सांसदहरु
रमेशजंग रायमाझी
प्रमुख सचेतक अनिता देवकोटा
प्रकाश पन्थ
जितेन्द्रनारायण देव रहेका छन् । साथै पन्थ दिगो विकास तथा सुशासन समिति सभापति हुन् ।
माओवादीबाट पदमुक्त हुने सांसदहरु
विना पोखरेल
महेशकुमार महरा
हरिराम चौधरी रहेका छन् ।
एकीकृत समाजवादीबाट पदमुक्त हुने सांसदहरु
नन्दा चपाईं
सिंगबहादुर विश्वकर्मा रहेका छन् ।
साथै जसपाका प्रमिलाकुमारी यादव स्वतन्त्रका खिमलाल देवकोटा पनि फागुन २० बाटै पदमुक्त हुँदैछन् । जसपाकी प्रमिला अहिले राज्यमन्त्री छिन् ।
रिक्त हुने ती पदमा पूर्तिका लागि निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मिति प्रस्ताव गरेको छ । बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आगामी माघ १०, ११ र १२ गते एक दिनका लागि निर्वाचनको मिति प्रस्ताव गरेका हुन् । निर्वाचन आयोगले निर्वाचनको मिति प्रस्ताव गरेपछि मन्त्रिपरिषद् बैठकले अन्तिम निर्णय गर्नेछ । राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।