जसपाको भवन निर्माणमा सहयोग गर्न पार्टीसदस्यलाई आह्वान
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय कार्यालयको भवन निर्माणका लागि पार्टी सदस्यहरूलाई सहयोग गर्न आह्वान गरेको छ ।
जसपाले पार्टीका सदस्यहरूको नाममा परिपत्र जारी गरी सो आग्रह गरेको हो । जसपाले ललितपुरको रानीबुमा आफ्नो जग्गामा कार्यालय भवन बनाउने निर्णय गरिसकेको छ । सो निर्णय अनुसार भवन निर्माणका लागि पार्टीका कार्यकारिणी सदस्य एवं पूर्व मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा भवन निर्माण समिति गठन भएको छ । केन्द्रीय कार्यालय निर्माण सम्बन्धी भौतिक, आर्थिक र व्यवस्थापनलगायत आवश्यक पर्ने सम्पूर्ण कार्यहरू गरी निर्माण कार्य सम्पन्न गर्ने गरी भवन निर्माण समितिलाई जिम्मेवारी दिइएको छ ।
यसअघि तत्कालीन सङ्घीय समाजवादी फोरम, नेपालले वरिष्ठ नेता अशोककुमार राईको संयोजकत्वमा भवन निर्माण समिति गठन गरेको थियो । सो समितिले भवनको नक्सा पास, माटोको परीक्षणलगायतका कार्य गरेर राउतलाई जिम्मेवारी हस्तान्तरण गरेको हो ।