नेपाल राष्ट्र बैंक र उद्योग वाणिज्य महासंघबीच सम्झौता
काठमाडौं । नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच अध्ययन अनुसन्धान प्रयोजनार्थ आर्थिक तथ्यांक र सूचना आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको उस्थितिमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ र महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयारीका लागि महासंघमा आबद्ध उद्योगले प्रत्येक त्रैमासमा आवश्यक तथ्यांक र सूचनाहरू राष्ट्र बैंकलाई उपलब्ध गराउनेछन् । त्यसका लागि महासंघले उद्योगहरूसँग आवश्यकताअनुसार समन्वय र सहजीकरण गर्ने सम्झौतापत्रमा उल्लेख छ । राष्ट्र बैंकले समय(समयमा गर्ने आकस्मिक तथा विशेष अध्ययनका लागि आवश्यक पर्ने औद्योगिक तथ्यांक र सूचना जुनसुकै समयमा महासंघमा आबद्ध उद्योगहरूले उपलब्ध गराउने समझदारी भएको छ । महासंघ वा उद्योगले उपलब्ध गराउने तथ्यांक सरकार वा राष्ट्र बैंकले अध्ययन,विश्लेषण तथा एकीकृत रूपमा प्रकाशन गर्ने प्रयोजनका लागि मात्र उपयोग गरिनेछ ।
सम्बन्धित निकाय र उद्योगबाट प्राप्त तथ्यांक र सूचनाको पूर्णरूपमा गोपनीयता कायम गरिने दुईपक्षीय समझदारी छ । त्यसरी उपलब्ध गराइएको तथ्यांक र सूचना बृहत् आर्थिक नीति निर्माण गर्ने प्रयोजनबाहेक व्यक्तिगत रूपमा अध्ययनरअनुसन्धान, प्रकाशन र अन्य कुनै पनि प्रयोजनका लागि उपयोग गरिने छैन । तथापि, उद्योग,व्यवसायको पहिचान नहुने गरी प्रकाशित भएको तथ्यांक र सूचनाको उपयोगमा भने बाधा पर्ने छैन । कार्यक्रममा गभर्नर अधिकारीले बैंक र महासंघबीचको समझदारीबाट तथ्यांक र सूचनाको आदानप्रदानमा सहजीकरण हुने उल्लेख गर्दै त्यसले बैंकका नीतिगत व्यवस्थाको तर्जुमा र कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । महासंघका अध्यक्ष ढकालले औद्योगिक क्षेत्रका तथ्यांक र सूचना नियमित रूपमा बैंकलाई उपलब्ध गराउन महासंघले समन्वय गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना, बैंकका निर्देशकद्वय मुक्तिनाथ सापकोटा र नारायणप्रसाद पोख्रेल तथा महासंघका तर्फबाट वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्सना श्रेष्ठलगायतको उपस्थिति थियो ।
















