कांग्रेसको भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न कार्यकर्तालाई आह्वान


काठमाडौं । नेपाली कांग्रेसले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) मा उद्धार र राहतको कार्यमा संलग्न हुन अपील गरेको छ । जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडा केन्द्रविन्दू भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति भएपछि कांग्रेसले उक्त अपिल गरेको छ । सयौंको संख्यामा घाइते भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गर्दछु, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा शनिबार बिहान जारी विज्ञप्तिमा उल्लेख छ ।

भूकम्पबाट प्रभावितहरुलाई सुरक्षित स्थल तर्फ तत्काल स्थानान्तरण गर्न, युद्धस्तरमा उद्धारको कार्य गर्न, घाइतेहरुको उपचार र राहतको कार्यमा सक्रियता साथ परिचालन गर्न प्रधानमन्त्री लगायत नेपाल सरकारसँग उनले माग गरेका छन् । नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का भूकम्प प्रभावित क्षेत्रमा उद्धारको कार्यलाई थप प्रभावकारी बनाउन त्यसतर्फ जाने उनले बताएका छन् । यस कठिन घडीमा नेपाली कांग्रेसका सम्पूर्ण पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा सक्रियतापूर्वक उद्धार, राहत र पुनर्निर्माणमा जुट्न निर्देश गर्दै यो विपत्तिको सामना संयम, धैर्यता र एकतापूर्वक गर्न सम्पूर्ण दिदीबहिनी–दाजुभाइहरुमा अपील गर्दछु, उनले भनेका छन् । विनाशकारी भूकम्पमा परी दिवंगत भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले मृतकहरुको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *