आइएमई ग्रुपद्वारा भूकम्प पीडितलाई एक करोड ५० लाख सहयोगको घोषणा
काठमाडौं ।आइएमई ग्रुपद्वारा प्रवद्र्धित कम्पनीहरू ग्लोबल आइएमई बैंक लिमिटेड, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स लिमिटेड र आइएमई लिमिटेड तथा आइएमई फाउन्डेसन मार्फत जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट प्रभावितहरूको लागि १ करोड ५० लाख रुपियाँ नगद सहयोग रकम प्रदान गर्ने भएका छन् । प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिन लागिएको आईएमई ग्रुपले जनाएको छ ।
जाजरकोट जिल्लामा केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । सो क्षेत्रमा आइएमई ग्रुप तथा आइएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोग समेत उपलब्ध गराउने भएका छन् । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महाभूकम्प तथा महामारिका समयमा उद्धार, तत्काल राहत वितरणमा आइएमई ग्रुपलाई नै परिचालन गरेको स्मरण गर्दै यससपटक पनि उद्धार र राहतमा हरसम्भव सहयोगका लागि जुटेको बताएका छन् ।
महासंघले जाजरकोट भूकम्प प्रभावितलाई सहयोग गर्ने महासंघका सबै सदस्य संस्थाहरूलाई अपिल पनि गरेको छ । जाजरकोट केन्द्रविन्दु बनाएर गत शुक्रबार राती ६ दशमलव ४ म्याग्निच्युडको विनाशकारी भूकम्प गएको थियो । उक्त भूकम्पले जाजरकोट र रुकुम पश्चिममा सयौंले नेपालीले ज्यान गुमाएका छन् । भूकम्पबाट धेरै घरहरु भत्केका छन् । एक हजारभन्दा बढी मानिसहरु घाइते भएको हुन सक्ने प्रारम्बिक विवरणहरु आएका छन् ।