नेपाल भित्रियो पहिलो हाइड्रोजनबाट चल्ने कार
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु)ले शनिबार हुन्डाई कम्पनीद्वारा निर्मित नेक्सो फ्युल सेल हाइड्रोजन एसयूभी नेपाल भित्र्याएको हो । काठमाडौं विश्वविद्यालयले ग्रिन हाइड्रोजनको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गरिरहेको छ । अध्ययन तथा अनुसन्धानकै निम्त केयुले सो कार नेपाल भित्र्याएको हो । विश्वविद्यालय हाइड्रोजन ल्याबका प्रमुख प्राडा विराजसिँह थापाका अनुसार नेपाल आयल निगमको सहायतामा सो गाडी कोरियाबाट ल्याइएको हो । विश्वविद्यालयले हाइड्रोजन गाडी सँगै रिफ्युलिङ स्टेशन पनि ल्याएको छ । प्राडा थापाले सबैका लागि सो गाडी टेस्ट ड्राइभको लागि खुला भएको बताएका छन् ।
साथै उनले भव्य उद्घाटन गरेर सो गाडीलाई सञ्चालनमा ल्याउने बताए । विश्वविद्यालयले खरिद गरेर ल्याएको सो गाडीलाई अन्तर्राष्ट्रिय बजारमा झण्डै ८० लाख रुपैयाँ पर्छ । १ सय ६१ हर्स पावर क्षमता रहेको उक्त गाडीमा एकपटक हाइड्रोजन भरेपछि ३ सय ८० माइल सम्म कुद्न सक्छ । गाडीमा ६.३३ किलोग्रामको हाइड्रोजन ट्याङ्क र १ सय २० किलोवा क्षमताको मोटर रहेको छ । पछिल्लो समय विश्वभरी नै धेरै चर्चा, अनुसन्धान र परीक्षणको चरणमा रहेको हाइड्रोजन कार अधिक विद्युत् उत्पादनको सम्भावना रहेको नेपालमा उपयोगी हुने अनुमान गरिएको छ ।