प्रधानमन्त्रीलाई भेट्न पुगे देउवा सहितका टोलि , ५० लाख रुपैयाँ प्रधानमन्त्रीलाई हस्तान्तरण
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सभापति देउवा, महामन्त्रीद्वय तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मासहित आज(मंगलबार) बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले जाजरकोट केन्द्र भई गत शुक्रबार गएको भूकम्पका पीडितलाई उद्धार, राहत र पुनर्स्थापनामा तत्काल काम गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो।
आजको भेटमा कांग्रेस बैठकको निर्णय अनुसार भूकम्पपीडितलाई सहयोग गर्न सरकारी कोषमा ५० लाख रुपैयाँ प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका छन् । साथै संघीय सांसदहरूको १५ दिनको पारिश्रमिक पनि उपलब्ध गराउने कांग्रेसको निर्णय छ ।
भूकम्पपछिका अवस्था अवलोकन र सहजीकरणका लागि कांग्रेसले महामन्त्रीद्वय थापा र शर्मा संयोजकत्वमा अनुगमन समितिसमेत गठन गरेको थियो । कांग्रेस सभापतिसहित नेताहरूले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा सबै भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउनसमेत माग गरेका छन्।