महाकाली र श्री हर्षित सहकारीले गरे संयुक्त साधारणसभा


काठमाण्डौं । काठमाडौं महानगरपालिका वडा ३२ पुरानो सिनामंगलमा रहेको श्री हर्षित बचत तथा सहकारी संस्था र कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९, काँडाघारीमा रहेको महाकाली बचत तथा ऋण सहकारी संस्थाले संयुक्त साधारणसभा गरेका छन् । यस अघि दुवै सहकारी संस्थाले बार्षिक साधारण सभामार्फत एकीकरणमा जाने प्रस्ताव पारित गरेका थिए । सोही अनुरुप दुवै सहकारी संस्थाले एकीकरणमा जानका लागि हिजो संयुक्त साधारण सभाको आयोजना गरेका हुन् । संयुक्त साधारण सभाले महाकाली साकोसका अध्यक्ष बालकुमार बाँस्तोलाको अध्यक्षतामा ७ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा बिना पराजुली, सचिवमा हरिशरण सिवाकोटी, कोषाध्यक्षमा तिलक बहादुर खड्का र सदस्यहरुमा सागर कुमार घिमिरे, इन्द्र थापा तथा अन्जु दाहाल पोखरेल रहेका छन् । संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा बिनोद पराजुली र सदस्यहरुमा कमल नेपाल एंव लाल बहादुर बस्नेत रहेका छन् । यसै महिना भित्र एकीकरण प्रक्रिया पुरा गरी संयुक्त रुपमा कारोवार गर्ने तयारी रहेको मर्जर कार्यदलका संयोजक बालकुमार बास्तोलाले बताए । एकीकरण पछि संस्थाको नाम महाहर्षित बचत तथा ऋण सहकारी संस्था रहने उनले जानकारी दिए । एकीकरण पछि संस्थाको कुल कारोबार १८ करोड ५० लाख पुग्ने छ भने शेयर पुँजी ५ करोड ६० लाख हुनेछ । त्यसैगरी बचत ११ करोड र ऋण लगानी १२ करोड ९१ लाख पुग्ने उनले बताए । ९५ लाख जगेडा कोष रहेको उक्त संस्थाको ४ आना जग्गामा बनेको सुविधा सम्पन्न आफ्नै कार्यालय रहेको छ । वित्तीय संकटका बीचमा पनि संस्थामा पर्याप्त तरलता रहेको छ । संस्थामा हाल ३ करोड २५ लाख तरलता रकम छ ।

एकीकरण पछि संस्थामा ६ सय ६६ सदस्य पुग्ने छन्। हर्षित २०६४ सालमा र महाकाली २०७७ सालमा स्थापना भएको संस्था हो । महाकालीको १३ करोड कारोबार रहेको छ भने हर्षित सहकारीको कारोबार ५ करोड ६३ लाख रहेको छ । एकीकरण पछि संस्थाको मुख्य कार्यालय मनोहरा बस्ती पुरानो सिनामगंल, पेप्सीकोलामा रहने छ भने सेवा केन्द्र मुलपानीमा सञ्चालन हुनेछ । साधारण सभामा कुल सदस्य संख्याको ८६ प्रतिशत सदस्यको उपस्थिति रहेको थियो । सहकारी मुल्य मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै अगाडी बढेको उक्त संस्थाले ‘समृद्ध जीवनका लागि सहकारी’ भन्ने मुल नारा तय गरेको छ । सुशासन, पारदर्शिता र सदस्यको समृद्धि नै संस्थाको मुल लक्ष्य रहेको बास्तोलाले बताए । दुइ सहकारी संस्थाबीच एकीकरण गरी समुदायमा नमूनायोग्य संस्थाको रूपमा स्थापित गर्ने लक्ष्य राखेको उनले बताए । एकीकरण पछि संस्था सबल र सक्षम भइ सदस्यहरूको आर्थिक सामाजिक स्तर उकास्न थप टेवा पुग्ने विश्वास उनको छ ।

सभामा संस्थाका पुर्व अध्यक्ष देव प्रसाद गुँरागाई, जिल्ला सहकारी संघ काठमाडौका सञ्चालक हेम बहादुर कार्की र नेपाल निर्माण व्यवसायी संघ काठमाडौका अध्यक्ष अचुतम कटुवालले शुभकामनना मन्तव्य राखेका थिए । सभामा शुभकामना मन्तव्य राख्दै समुदाय र सदस्यको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरण गर्दै यस क्षेत्रकै अब्बल संस्थाको रुपमा स्थापित गर्न उनीहरुले सुझाए । बैंक तथा वित्तीय क्षेत्रमा लामो समय काम गरेका व्यक्ति, उच्च व्यवस्थापन, डाक्टर, इन्जिनियर, व्यवसायी लगायत अर्थशास्त्रका ज्ञाताहरु र समुदायका लब्ध प्रतिष्ठित व्यक्तिहरुको संस्थामा आवद्धता रहेको छ । सभामा हर्षित साकोसका अध्यक्ष खडानन्द ढकालले स्वागत मन्तव्य राखेका थिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *