वर्तमान व्यवस्था र राजसंस्था पक्षधर राजसंस्था पुनर्स्थापनामा सम्भावना कस्तो छ ?
काठमाडौँ । नेपालमा वर्तमान व्यवस्था र राजसंस्था पक्षधर बिच भईरहेको बिवादको बिचमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दूराष्ट्र तथा राजसंस्था पुनर्स्थापना चाहने शक्तिहरूबीच बृहत् राष्ट्रिय मोर्चा निर्माण गर्न आह्वान गरेको छ ।
साथै आवश्यक पहलसमेत थालिसकेको सो पार्टीका प्रवक्ता बसन्तमान सिंह अधिकारीले बताए । अर्कोतर्फ त्यस्ता शक्तिलाई एकजुट हुन यसअघि नै आह्वान गरिसकेको राजेन्द्र लिङ्देनको राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो नेतृत्वमा उक्त मुद्दालाई अगाडि बढाउन चाहेको अर्का एक नेताले उल्लेख गरे।
दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाभियान’ बीच हिन्दुराष्ट्र तथा राजसंस्था पक्षधर दलहरूको पछिल्लो पहललाई कतिपयले चासोका साथ हेरेका छन् । तर ती शक्तिहरू एकढिक्का भएको खण्डमा पनि तिनका मुद्दा स्थापित हुने सम्भावना आफूले नदेखेको एकजना राजनीतिशास्त्रीले बताए।
भरतपुरमा सोमवार पत्रकारहरूसँग कुरा गर्दै सत्ता साझेदार नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अब “राजतन्त्र फर्कने सम्भावना नरहेको” दाबी गरे।
सोमवार नै नेकपा माओवादी केन्द्रको वेबसाइट उद्घाट गर्ने गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “मुलुकलाई निरङ्कुशतातर्फ धकेल्न प्रतिगमनकारी शक्तिहरूले षड्यन्त्र गर्न खोजेको” टिप्पणी गरे।
राजसंस्था पक्षधर दल के भन्छन्रु ?
“देशमा अहिले व्याप्त बेथितिलगायत समस्याको सम्बोधन विद्यमान व्यवस्थाबाट हुन नसक्ने देखेर” आफूहरूले सङ्घीयता खारेजी तथा सनातन हिन्दूराष्ट्र एवं राजसंस्थाको पुनर्स्थापना चाहेको राप्रपा नेपालका प्रवक्ता अधिकारीले दाबी गरे।
“संवैधानिक राजसंस्था र धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र पुनर्स्थापित नभएसम्म राष्ट्रिय अस्तित्व र स्वतन्त्रता कायम रहन सक्दैन,” उनले भने।
ती मुद्दा स्थापित गराउने दिशामा आफूहरूले प्रस्ताव गरेको बृहत् राष्ट्रिय मोर्चा गठनको विषयमा आउँदो बैठकबाट अझ ठोस कुरा आउने अधिकारी बताउँछन्।
“समान विचारधारा भएका, समान मुद्दा बोकेर हिँडेका पार्टी, अभियानकर्मी तथा व्यक्तित्व सबै एक ठाउँमा आएर संयुक्त जनआन्दोलन गर्नुपर्छ भन्ने पक्षमा हामी छौँ,” उनले अगाडि थपे।
“जबसम्म हामी एकजुट हुँदैनौँ र बेग्लाबेग्लै हिँडिरहन्छौँ तबसम्म हामीले चाहेका उपलब्धि हासिल हुन सक्दैनन्।”
आफूहरूले भनिरहेको बृहद् मोर्चामा प्रसाईँको अभियानलाई पनि समेट्न सक्ने प्रवक्ता अधिकारीले उल्लेख गरे।
राजसंस्था र हिन्दूराष्ट्रको मुद्दा आफ्नो हातबाट फुत्किन लागेको डरले त तपाईँहरू तातिएको होइनरु
उनले भनेः “यो कसैको हातबाट फुत्किएर अथवा खोसिएर जाने कुरा होइन। यसका लागि राष्ट्रिय शक्ति मात्रै नभई अन्तर्राष्ट्रिय समर्थन पनि जुटाएर जानुपर्ने भएको हुनाले हामीले व्यापक दृष्टिकोण राखेर हेर्नुपर्छ।”
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता मोहनकुमार श्रेष्ठ भने राजसंस्था र हिन्दूराष्ट्र पक्षधर अन्य शक्तिले बनाउने मोर्चामा सहभागी हुनुभन्दा आफूहरूले नै नेतृत्व गर्ने बताउँछन्।
“यो मुद्दा सङ्घीयता खारेजी र हिन्दूराष्ट्र तथा संवैधानिक राजसंस्था पुनर्थापनो लाई निरन्तरता दिँदै चुनावमा समेत सहभागी हुँदै आएको सबैभन्दा ठूलो दल राप्रपा हो,” उनले भने।
“राप्रपा अरूले आह्वान गरेको गठबन्धनमा जाने वा नजाने भन्दा पनि त्यस्ता सबै समूहको नेतृत्व राप्रपाले लिन्छ। त्यससम्बन्धी प्रमुख शक्ति भएको नाताले राप्रपाले अगुवाइ गर्छ, त्यसको लागि पहलकदमी लिन्छ।”
त्यसबारे यसअघि नै आह्वान गरिसकिएको र पार्टीको आगामी बैठकमा पनि छलफल हुने उनले बताए।
“निश्चित रूपमा राप्रपाले त्यस्ता सबै शक्तिलाई समेटेर अगाडि बढ्छ,” श्रेष्ठले थपे।
राप्रपाबाटै चोइटिएर कमल थापाले आफ्नो नेतृत्वमा राप्रपा नेपाल गठन गरेका हुन्।
राप्रपाको पछिल्लो महाधिवेशनमा आफू पराजित भएपछि थापाले सार्वजनिक रूपमै त्यसको दोष निर्मल निवासलाई लगाउँदै राजसंस्थाको मुद्दा छाडेर नयाँ दल खोली गत वर्षको निर्वाचानमा सहभागी भएका थिए।
अहिले फेरि उनको दलले पुरानै मुद्दालाई उठाउन थालेको देखिएको छ।
राजनीतिशास्त्री के भन्छन्रु ?
सरकार र वर्तमान व्यवस्थाप्रति जनतामा निराशा बढ्नुमा गणतन्त्र र सङ्घीयता पक्षधर राजनीतिक दलहरूकै कार्यशैली जिम्मेवार रहेको राजनीतिशास्त्रीहरू बताउँछन्।
“परिवर्तनलाई संस्थागत गर्न चाहनेले जे परिणाम दिन सक्नुपर्ने हो त्यो नसक्दा नागरिकमा असन्तुष्टि बढेको हो। यही मौकालाई अर्को पक्षले उपयोग गर्न खोजेको हुनुपर्छ,” राजनीतिशास्त्री कृष्ण पोखरेलले भने।
कमल थापाले अहिले बृहत् मोर्चा गठनको प्रस्ताव अगाडि सार्नुको कारण यही रहेको पोखरेलको ठम्याइ छ।
“जुन मुद्दा कमल थापाले बोकेका हुन् त्यस्ता मुद्दा बोक्नेहरूमाझ उनी पाखा परिसकेको अवस्था छ। तर उनलाई त फेरि त्यही ‘रिङ्ग’भित्र आउनुपर्ने बाध्यता छ। उनको स्वार्थ त्यो पनि छ,” उनले थपे।
तर त्यस्ता शक्तिहरू एकजुट हुने खासै सम्भावना आफूले नदेखेको राजनीतिशास्त्री पोखरेल बताउँछन्।
“त्यति सहज छैन र एकढिक्का हुने परिस्थिति पनि म देख्दिनँ। तर संयोगको कुरा हो, हुन पनि सक्छ।”
राजनीतिशास्त्री पोखरेलका अनुसार “त्यस्ता शक्तिहरू कथम्कदाचित् एकढिक्का भइहालेको खण्डमा पनि तिनीहरूले अहिलेको व्यवस्थालाई धक्का दिन सामर्थ्य राख्दैनन्।”
“किनभने अहिलेको अवस्थामा संवैधानिक तरिकाले निर्वाचनबाट ृबहुमतमार्फत् व्यवस्था फेर्ने परिवर्तन हुने हो, या त यो प्रणालीलाई उल्ट्याउनुपर्ने हुन्छ र उल्ट्याउनै सक्ने सामर्थ्य उनीहरूमा अहिलेको अवस्थामा म देख्दिनँ,” उनले भने।
केही दिनअघि कृष्ण खनालले जनतामा असन्तुष्टि देखिए पनि अधिकांश मानिस व्यवस्था नै फेर्नुपर्ने पक्षमा नदेखिएको बताएका थिए।
प्रणालीमाथि प्रहारको कुरा राजनीतिक दलहरूले आफ्नो कमजोरी लुकाउनका निम्ति उठाउन खोजेको उनले बताए।
“हामी सुध्रिएनौँ भने प्रणाली नै जान्छ भन्नुको मतलब उनीहरूको अयोग्यताको स्वीकारोक्ति पनि हो,” खनालले भने।
“पार्टीहरूले आन्तरिक सुधार गर्ने र नेतृत्व बदल्ने हो भने मलाई लाग्छ नेपाली जनमत यो प्रणालीको विपक्षमा छैन। प्रणालीका कमीकमजोरीमा असन्तोष होलान्, तर प्रणालीकै विरुद्ध होइन,” उनले थपे।
बीबीसीको सहयोग