परराष्ट्रमन्त्री एनपी साउद विपिनको रिहाइ पहल गर्न कतार जाँदै
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जानेभएका छन् ।
इजरायलमा हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि उनी मङ्सिर २३ मा कतार जान लागेका हुन् । हाल इजरायल र हमासबीच बन्दी रिहाईका लागि भएको युद्धविराममा दुवै पक्षले कब्जामा रहेका बन्दीहरु रिहाई गरिरहेको भएपनि रिहाइ हुने समुहमा जोशी पर्न सफल भएका छैनन् । यसअघि मङ्सिर ८ गते परराष्ट्र मन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए । त्यसअघि मङ्सिर ७ गते (बिहीबार) उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए ।
परराष्ट्र मन्त्री साउदले आज (बुधवार) गृह जिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपिन जोशीका बुवा आमासँग पनि भेट गरेका छन् । साथै उनले कतार बसाइँका क्रममा दोहा २१ औँ फोरममा पनि सहभागी हुनेछन् । डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ।