‘भीभीआईपी फ्लाइट’ टिकट काटिसकेका ३१ यात्रु विमानस्थलमै छोडेर दुबई पुग्यो नेपाल एयरलाइन्स
काठमाडौं । दुबई जान टिकट काटिसकेका ३१ जना यात्रुलाई नेपाल एयरलाइन्सको जहाजले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै छोडेर दुबई पुगेको छ ।
एयरलाइन्सको जहाजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई उड्दा सोही विमानको टिकट लिएका ३१ यात्रुहरु काठमाडौंमै छाडेर जहाज दुबई पुगेको हो । जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप(२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहितको टोली गएराति साढे ९ बजे नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ बाट दुबई प्रस्थान गरेका थिए । त्यही जहाजमा टिकट काटेका अरु यात्रु भने दुबई जान पाएनन् ।
एयरलाइन्सले यात्रुहरु छुट्नुको कारण ‘भीभीआईपी फ्लाइट’ रहेको जनाएको छ । साढे ११ बजे उड्ने भनेको जहाज प्रधानमन्त्रीलाई लिएर साढे ९ बजे नै उडेको थियो । तर उडान तालिका अघि सरेको जानकारी नेपाल एयरलाइन्सले नगराउँदा एयरपोर्ट पुगिसकेका यात्रुहरु पनि फर्किन बाध्य भएका थिए ।
ती यात्रुहरुलाई ज्ञानेश्वरस्थित काबेरी इन होटलमा राखिएको जनाइएको छ । प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान नपाएका धेरैजसो वैदेशिक रोजगारीका लागि जान लागेका नेपालीहरु छन् । नेपाल एयरलाइन्सले पूर्वनिर्धारित मिति र समयमा नउडाउँदा दुबईमा पहिल्यै होटल बुक गरेका र काममा खटिनुपर्नेहरु समस्यामा परेका छन् ।