केपी ओली कप टी-२० – उपाधि मधेस प्रदेशलाई
पोखरा । केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ ।
जित्नका लागि त्रिभुवन आर्मी क्लबले १ सय ३६ रनको लक्ष्य पाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ८ विकेट गुमाएर १३५ रन बनाएको थियो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनायो । तर यता जवाफ ब्याटिङमा रहेको आर्मीले ७ विकेटको क्षतिमा १२४ रन मात्रै बनाउन सक्यो ।
मधेसका लागि विशाल पटेलले सर्वाधिक ४९ रनमा अविजित रहन सफल बने । उनले ३२ बलमा ३ चौका, ३ छक्का प्रहार गरे । यस्तै कप्तान हरिशंकर शाहले २७, अनिल शाह ६, इम्रान शेखले ८, पवन सराफले ९, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४, मायन यादवले ३ रन बनाएर आउट भए ।
बलिङतर्फ आर्मीका साहब आलम र विवेक यादवले सर्वाधिक ३-३ विकेट लिए । सोमपाल कामी र बसिर अहमदले १-१ विकेट लिएका थिए ।
प्रतियोगितामा सात प्रदेशका सात टिम, र विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको आयोजना मदन भण्डारी स्पोर्ट्स एकेडेमीले गरेको थियो भने प्रतियोगिता यही मङ्सिर ७ गतेदेखि सञ्चालन भएको हो । यसैसँगै आजबाट केपी ओली कप पनि सकिएको छ ।