राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक थापाको निधन

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक भीम थापाको निधन भएको छ ।

बिहीबार काठमाडौंको कुलेश्वरस्थित निजी निवासमा लडेपछि मेडिसिटी अस्पताल पुर्‍याइएका ७५ वर्षीय थापालाई अस्पतालले मृत घोषणा गरेको एन्फाले जानकारी दिएको छ ।

थापाले सन् १९७१ मा जापानमा भएको यू–१९ एसियन च्याम्पियनसिपमा नेपाली टिमको प्रतिनिधित्व गरेका थिए । उनले न्यूरोड टिम (एनआरटी) र महावीर क्लबबाट घरेलु फुटबल खेलेका थिए । फुटबल करियरपछि प्रशिक्षण सुरु गरेका थापाले १९९६ मा राष्ट्रिय टिमको प्रशिक्षक र त्यसपछि एन्फा सहायक–महासचिवको रूपमा पनि काम गरेका थिए ।

रुक्मशमशेर राणा नेतृत्वको कार्यकालमा सहायक–महासचिव रहेका थापाले एन्फामा प्राविधिक निर्देशकको रूपमा समेत काम गरेका थिए । एन्फाले एन्फा एकेडेमी प्रस्ताव ल्याउँदा थापाले नै सबै कार्यको योजना बनाएका थिए ।

एन्फाका अनुसार अन्तिम श्रद्धान्जलका लागि थापाको पार्थिव शरीर शुक्रबार दिउँसो सातदोबाटोस्थित एन्फा मुख्यालयमा राखिने र उनको आजै बेलुका पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *