सञ्चार मन्त्री शर्माद्वारा भूकम्प प्रभाबित क्षेत्रमा खटिएका पत्रकारलाई सहयोग

रुकुम पश्चिम । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पले असर पुर्‍याएको क्षेत्रमा खटिएका रुकुम पश्चिमका पत्रकारलाई सहयोग उपलब्ध गरेकी छन् ।

रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयमा आज आयोजित कार्यक्रममा उनले पत्रकार महासङ्घका अध्यक्ष लक्ष्मण केसीलाई भूकम्प पीडित क्षेत्रका ३० पत्रकारका लागि राहतस्वरुप ३० थान स्लिपिङ ब्याग र ३० थान ज्याकेट हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, उपाध्यक्ष उदय जिएमलगायतको उपस्थिति थियो ।

भूकम्पबाट पीडित व्यक्ति र भूकम्पले क्षति पुर्‍याएको स्थलमा समाचार सङ्कलन गर्दै आएका पत्रकारलाई चिसोको समयमा राहत पुगोस् भनेर न्यानो कपडा हस्तान्तरण गरिएको मन्त्री शर्माले जानकारी दिए । ती सामाग्री सम्बन्धित क्षेत्रमा खटिएका पत्रकारलाई आजै वितरण गरिएको पत्रकार महासङ्घका जिल्ला अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए ।

चिसोको समयमा पत्रकारका लागि न्यानो कपडा उपलब्ध गराउनाका साथै जिल्लामै आएर मोफसलका पत्रकारलाई भेटघाट गरी हौसला बढाउँदा आफूहरूको मनोबल बढेको उनको भनाइ थियो ।

हिजो सल्यान जिल्लाको विभिन्न ठाउँमा भूकम्पपीडितसँग भेटघाट गर्न पुगेकि मन्त्री शर्मा आज रुकुम पश्चिम र जाजरकोटका भूकम्प पीडित क्षेत्रमा पुग्ने कार्यक्रम थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *