टिकटक प्रतिबन्ध सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आज सुनुवाइ
काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।
यसअघि सरकारको निर्णयमा न्यायाधिश विनोद शर्माको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइको मिति तय गरेको थियो ।
टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । न्यायाधीश शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको थियो । गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले समाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
उक्त निर्णयको विरोध गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू अनन्तराज लुइटेल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने, रामकृष्ण बञ्जरा, प्रेमराज शिलवाल, त्रिलोकबहादुर चन्द, युवराज पौडेल सफल लगायतले रिट दायर गरेका थिए ।