नागरिक लगानी कोषको कार्यकारी निर्देशक बन्न १० जनाको प्रतिस्पर्धा
काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि १० जनाले आवेदन दिएका छन् । विभिन्न संस्थामा लामो समय काम गरिसकेका अनुभवी व्यक्तिले कोषको ईडीका लागि आवेदन दिएका हुन् । कोषले गत कात्तिक २१ गते कार्यकारी निर्देशकका लागि आवेदन माग गरेको थियो । कार्यकारी निर्देशकका लागि आवेदन दिनेमा कमलप्रसाद रेग्मी, रामदेव यादव, पर्वत कुमार कार्की, राजेन्द्र पण्डित, रोशनजङ्ग कार्की, विश्वमोहन अधिकारी, जीवन प्रकाश सिटौला, अनिलराज पौडेल, लेखनाथ शर्मा पंगेनी र डा।शिवहरी श्रेष्ठ रहेका छन् । आवेदन दिनेमध्ये राजेन्द्र पण्डित राष्ट्र बैंकबाट अवकास प्राप्त कर्मचारी हुन् । उनले राष्ट्र बैंकमा ३० वर्षसम्म काम गरेका छन् । उनी हाल पब्लिक पोलिसीमा विद्यावारिधी गर्दैछन् । चिरञ्जीवि नेपाल गभर्नर हुँदा उनी कम्पनी सचिव थिए । यस्तै, जीवन प्रकाश सिटौला पूर्व सहसचिव हुन् । सरकारी सेवाबाट अवकाश भएका उनले उद्योग विभागको महानिर्देशक, सम्पत्ति शुद्धिकरणको महानिर्देशक हुँदै कोसी प्रदेशको अर्थ सचिव भएर पनि काम गरिसकेका छन् । उनी प्रभु बैंकका अध्यक्ष लिला प्रकाश सिटौलाका भाइ हुन् ।
डा शिवहरी श्रेष्ठले राष्ट्रिय खाद्य संस्थानमा चार वर्ष महाप्रबन्धक भएर काम गरिसकेका छन् । उनले राष्ट्रिय बीमा संस्थानको प्रशासक भएर पनि काम गरिसकेका छन् भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको सीईओ र नेपाल औद्योगिक विकासमा पनि साढे दुई दशक काम गरिसकेका छन् । उनले नेपाल राष्ट्र बैंकको छात्रवृत्तिमा अर्थशास्त्रमा विद्यावारिधि पनि गरेका छन् । यस्तै, आवेदन दिनेमा विश्वमोहन अधिकारी पनि रहेका छन् । उनी युवा तथा स्वरोजगार कोषका हालका कार्यकारी निर्देशक हुन् । उनी पूर्व बैंकर पनि हुन् । उनले तत्कालीन ओम डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरिसकेका छन् । यस्तै, कमलप्रसाद रेग्मी पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकको प्रतिस्पर्धामा छन् । नेपाल बीमा प्राधिकरणको कानून तथा नियमन महाशाखा प्रमुख रेग्मीको स्थायी घर तेह्रथुम हो । यसअघि अर्थमन्त्रालय र गृहमन्त्रालयमा समेत काम गरेका उनले १२ वर्ष नेपाल टेलिभिजनमा पनि काम गरे । आवेदक रोशनजंग कार्की हाल नागरिक लगानी कोषमै आवद्ध छन् । उनी कोषमा निमित्त निर्देशकका रूपमा कार्यरत छन् भने वित्तीय व्यवस्थापन विभाग सम्हालिरहेका छन् । यस्तै, आवेदक लेखनाथ शर्मा पंगेनी नेपाल सरकारबाट अवकाश प्राप्त कर्मचारी हुन् । उनी नेपाल सरकारको सहसचिव पदबाट अवकाश प्राप्त कर्मचारी हुन् । उनले राजस्व परामर्श बोर्डको सदस्य भएर पनि काम गरिसकेका छन् ।
उनले अर्थमन्त्रालय र मातहतका निकायमा तीन दशक लामो समय काम गरेका छन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका उनको घर स्याङ्जा हो । अनिलराज पौडेलले पनि कोषको ईडीका लागि आवेदन दिएका छन् । उनले करिब तीन दशक राष्ट्रिय सहकारी बोर्डमा उप(निर्देशक भएर काम गरिसकेका छन् । किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले पनि आवेदन दिएका छन् । उनी राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । उनले राष्ट्र बैंकमा तीन दशक काम गरे । उनले ग्रामिण विकास बैंकको सीईओ भएर पनि काम गरिसकेका छन् । उनी व्यवस्थापनमा स्नातकोत्तर छन् । यस्तै, सिंहदरबार वैद्यखानाका पूर्व कार्यकारी निर्देशक रामदेव यादव पनि ईडी बन्ने प्रतिस्पर्धामा छन् । कोषको कार्यकारी निर्देशक छनोट समितिले १० जनामध्ये पाँच जनाको नाम सर्टलिष्ट गर्नेछ । पाँच जनाको नामलाई अर्थमन्त्रालयले तीन जनामा सर्टलिष्ट गरेर मन्त्रिपरिषदमा पेस गर्नेछ । मन्त्रिपरिषद् बैठकले तीन जनामध्येबाट एक जनालाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गर्नेछ ।