एनआईसी एशिया बैंकले अधिकतम् १३ प्रतिशत ब्याजमै कर्जा दिने


काठमाडौं । एनआईसी एशिया बैंकले सम्पूर्ण कर्जाको अधिकतम् प्रिमियम दर ३ प्रतिशत तोकेको छ । मंसिरमा बैंकको औसत आधारदर १०.७ प्रतिशत छ । सो आधार दरमा ३ प्रतिशत प्रिमियम दर कायम गर्दा बैंकले आफ्ना ग्राहकहरूलाई अधिकतम् ब्याजदर १३।७ प्रतिशतमा ऋण लगानी गर्छ । बैंक तथा वित्तीय संस्थाले १६।१७ प्रतिशत ब्याजमा कर्जा लगानी गरेको भनेर गुनासो बढिरहेको बेला एनआइसी एशिया बैंकले अधिकतम् १३.७ प्रतिशत ब्याजमा कर्जा लगानी गर्ने भन्ने विषयले यतिखेर बैंकिङ क्षेत्रमा एक किसिमको तरंग सिर्जना भएको छ । एनआइसी एशिया बैंकका सहायक महाप्रबन्धक अर्जुनराज खानियाँ बैंकले सम्पूर्ण कर्जामा अधिकतम् ३ प्रतिशत प्रिमियम तोकेर ब्याज घटेको सन्देश दिन खोजेको बताए । उनका अनुसार बैंकको यो निर्णयले व्यवसाय चलायमान बनाउन मद्दत पुग्नेछ । आधार दर उच्च भएपछि कर्जाको लागत पनि बढ्छ । तर, पिमियम दर घटाएर कर्जाको लागत कम गरी ग्राहकहरूलाई सहजीकरण बनाएको उनको भनाइ छ । उनका अनुसार एनआईसी एशिया बैंकले प्रिमियम दर घटाउँदा अन्य बैंकहरूलाई समेत दबाब परेको छ । अधिकतम ६ प्रतिशतसम्म प्रिमियम लिएका बैंकहरूलाई एनआईसी एशियाले झट्का दिएको उनको भनाइ छ । ‘अधिकतम ६ प्रतिशतसम्म प्रिमियम लिइरहेका बैंकलाई पक्कै पनि दबाब पर्यो, राष्ट्र बैंकलाई पनि ब्याज बढाएको आरोप लाग्यो, सरकारले पनि ब्याजदर घटाउन केही पहल गरेन भनेर धेरै गुनासोहरू आए,’ उनले भने( ‘ती गुनासो सम्बोधन गर्न एनआईसी एशियाले ३ प्रतिशतभन्दा बढी प्रिमियम नलिने निर्णय गरेको हो, अब डिफल्ट तथा जुनसुकै प्रकारको जोखिम भएपनि बजारमा सकारात्मक सन्देश दिन खोजेका हौं । खानियाँका अनुसार ३ प्रतिशत प्रिमियम दर दीर्घकालसम्म कायम राख्ने उद्देश्य बैंकको छ । प्रिमियम दर घटाउँदा कर्जा लिएका ऋणीहरूको अब्लिगेसन डाउन हुने उनको भनाइ छ ।

‘३ प्रतिशत प्रिमियममा कर्जा प्रवाह गर्दा समयमा रिकभरी र एडिसनल प्रोभिजनल गर्न नपरेको खण्डमा यो व्यवस्था लामो समय जान्छ । तर, ब्याज नतिर्ने र इन्ट्रेष्ट ओभरड्यूमा बसेर एडिसनल लोन लस प्रोभिजनल गर्नु पर्यो भने फेरी बढाउनु पर्ने हुन सक्छ,’ उनले भने, ‘जस्तो आधार दर १० प्रतिशत हुँदा ६ प्रतिशत प्रिमियम लिएपछि कर्जाको रेट १६ प्रतिशत पुग्छ, १६ प्रतिशत हुँदा १० हजार रुपैयाँ तिर्नु पथ्र्यो भने अब १३ प्रतिशत भएपछि ८ हजार रुपैयाँ तिरे पुग्यो, त्यो हिसाबमा अब्लिगेसन नै कम गर्न खोजिएको हो । अब्लिगेसन कम गरेपछि रिपेमेन्ट गर्न सजिलो हुन्छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै बैंकले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न भनेका थिए । १५ प्रतिशतभन्दा बढी ब्याज तिरेको गुनासो आए राष्ट्र बैंकले फिर्ता गराउने बाचा गभर्नर अधिकारीले गरेका थिए । गभर्नर अधिकारीले सार्वजनिक कार्यक्रममै घोषणा गरेपछि एनआईसी एशिया बैंकले दोस्रो दिन नै प्रिमियम दर घटाएर फण्डा गरेको आरोप समेत लाग्यो । तर, बैंकले कुनै फण्डा नगरेको पुष्टि खानियाँ गर्छन् । उनका अनुसार प्रिमियम दर कम हुँदा रिकभरी सहज हुने र बैंकको नाफामा समेत वृद्धि हुनेछ । ‘आधार दरमा शून्य प्रिमियममा पनि कर्जा प्रवाह भएका छन्, हामीले पनि थुप्रै ग्राहकलाई शून्य प्रिमियममा कर्जा दिएका छौं, प्राथमिक प्राप्त कर्जामा आधार दर माइनस प्रिमियम लिएका छन्, पहिलै फिक्स्ड इन्ट्रेस्ट रेट वा टाई अफ भएका कर्जा पनि छन्,’ उनले भने ‘तर, अधिकतम ३ प्रतिशतभन्दा बढी प्रिमियम नलिने भनेर कुनै पनि बैंकले घोषणा गर्न सकेका छैनन्, कुनै ग्राहकले ३ प्रतिशतभन्दा बढी प्रिमियम लिएको भनेर गुनासो गरेमा बैंकले फिर्ता गर्छौं । पूर्व बैंकर पर्शुराम कुँवर बैंकहरूको औसत प्रिमियम दर २ प्रतिशतको हाराहारीमा रहेकाले एनआईसी एशियाको सो व्यवस्थाले खासै असर नपर्ने बताउँछन् । साथै, आधार दर एकल अंकमा भएका बैंकलाई पनि कुनै दबाब नहुने उनको भनाइ छ । ‘आधार दर कम भएका बैंकले चिन्ता लिनु पर्दैन, अन्य बैंकलाई पनि त्यति धेरै असर गर्दैन, राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार आधार दर, ब्याज दरका आधारमा औसत प्रिमियम दर २ प्रतिशतको हाराहारीमा छ, त्यसैले ३ प्रतिशत भनेको केही पनि होइन, अधिकांश बैंकहरूले २।३ प्रतिशत प्रिमियम लिएर कर्जा दिइरहेका छन् । कृषि विकास बैंकका नायव प्रबन्धक यज्ञ प्रकाश न्यौपानेका अनुसार स्प्रेड दर ४ प्रतिशत कायम गर्न कृषि विकास बैंकले आधार दरमा २ प्रतिशत मात्रै प्रिमियम लिइरहेको छ । तर, केही कर्जामा भने सोभन्दा बढी पनि प्रिमियम लिने गरेको उनको भनाइ छ । ‘आधार दरमा ३ प्रतिशत प्रिमियम भनेको बढी हो, कृषि विकास बैंकले अधिकतम २ प्रतिशत मात्रै प्रिमियम लिइरहेको छ, आधार दर १०.०३ प्रतिशत छ, स्प्रेड दर ४ प्रतिशत कायम गर्न २ प्रतिशत मात्रै लिएका हौं । ‘तर, बैंकले कुनै कुनै कर्जामा २ प्रतिशतभन्दा बढी प्रिमियम लिइरहेको छ ।

एनआईसी एशियाले प्रिमियम घटाउँदा अन्य बैंकलाई स्वतः दबाव पर्ने उनको भनाइ छ । साथै, अब ऋणीहरू ५ प्रतिशत प्रिमियम भएको बैंकमा नगई ३ प्रतिशत प्रिमियम दर भएको बैंकमा कर्जा लिन जाने उनले बताए । नेपाल एसबिआई बैंकका प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव बैंकको प्रिमियम दर क्रमशः घटिरहेको बताउँछन् । बैंकको लागत घट्दै गएपछि स्वभाविक रुपमा प्रिमियम दर घट्ने उनको भनाइ छ । स्प्रेडरेट ४ प्रतिशतमा कायम राख्न पनि प्रिमियम घटाएको हुन सक्ने उनले बताए । ‘अधिकांश बैंकले ३ प्रतिशत प्रिमियममा कर्जा दिइरहेका छन्, कुनै कर्जामा ४ प्रतिशत पनि हुन सक्छ, त्योभन्दा बढी छैन, विजनेशको भोलुम अनुसार प्रिमियम तोक्ने गरिएको छ, एसबिआई बैंकको आधार दर १०.०७ प्रतिशत छ, बैंकले ३ प्रतिशत कम प्रिमियममा नै कर्जा दिइरहेको छ,’ उनले भने । पूर्व बैंकर अनलराज भट्टराई केन्द्रिय बैंकले ब्याजदरलाई विभिन्न तीन तरिकाबाट नियन्त्रण गर्न खोजेको बताउँछन् । उनका अनुसार ४ प्रतिशतभित्र स्प्रेड दर कायम गर्नु पर्ने, आधार दरमा ५ प्रतिशतभन्दा बढी प्रिमियम लिन नपाउने र एउटै प्रकृतिको कर्जामा २ प्रतिशतभन्दा बढी प्रिमियम लिन नपाउने व्यवस्थाले ब्याजदर नियन्त्रण गर्न खोजेको हो । प्रोभिजन बढी राख्नु पर्ने व्यवस्था कम भयो भने ब्याजदर अझै घट्ने उनको बुझाइ छ । ‘बैंकले १ प्रतिशतदेखि ३ प्रतिशत, २ प्रतिशतदेखि ४ प्रतिशत र ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिन सक्छन्, यसले ब्याजदर घटाउन मद्दत गर्छ, स्प्रेड दर ४ प्रतिशत कायम गर्न प्रिमियम घटाइन्छ,’ उनले भने ‘१.२५ प्रतिशत प्रोभिजन राख्नु पर्ने व्यवस्थाले बैंकलाई समस्या परेको छ, यदि ०.२५ प्रतिशत घट्यो भने ब्याजदर अझै घट्न सक्छ । एनआईसी एशिया बैंकले प्रिमियम दर घटाउनुलाई भट्टराई सकारात्मक रुपमा लिन्छन् । साना तथा मझौला (एसएमईज) उद्यमी कर्जाहरूमा बैंकको ठूलो पकड भएकाले सकारात्मक रहेको उनको भनाइ छ । अन्य बैंकलाई पनि दबाव श्रृजना हुने उनले बताए । ‘रिकभरीमा सहज हुन्छ, १ सय रुपैयाँ लिएर १६ रुपैयाँ तिर्नु परेको छ भने अब १२ रुपैयाँ मात्रै तिर्नु पर्यो भने ४ रुपैयाँ प्रिन्सिपलमा घटाउन सक्यो, ब्याजदर घट्दा उपभोक्ताको मूल्य घटाउन पनि मद्दत गर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *