गठबन्धन सरकारका कारण देशको अर्थतन्त्रमाथि हमला भयो : पूर्वप्रधानमन्त्री ओली
रुकुमपूर्व । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्रमाथि हमला भएको बताएका छन् ।
एमालेले तय गरेको झुलाघाट बैतडी चिवा भञ्ज्याङ पाँचथर समृद्धिका लागि संकल्प यात्रा का क्रममा रुकुमपूर्व पुगेका ओलीले गठबन्धन सरकारका कारण अर्थतन्त्र डामाडोलको अवस्थामा पुगेको आरोप लगाए । अध्यक्ष ओलीले देश अहिले ऋणको भरमा चलिरहेको बताए । देशभित्रका दलाल पुजीवादी र देश बाहिरका तत्वहरुले देशलाई अस्थिर बनाउन खोजिरहेको आरोप लगाए।
ओलीका अनुसार गठबन्धनको सरकारबाट जनतामा निराशा छाएको छ । देशको अस्थिर राजनीति र अराजकताले जनताको दैनिकी दयनीय भइरहेको उनले दावी गरे। ओलीले वर्तमान गठबन्धन सरकारले विकास निर्माण र राजस्व उठाउन नसकेको जिकिर गरे।
ओलीले मिसन ८४ मा बहुमत ल्याउनेगरी काम गर्न कार्यकर्तालाई निर्देशन समेत दिए । समाजवाद उन्मुख बाटोमा अघि बढ्न र जागरणसहित समस्या संकलनका लागि अभियान सञ्चालन गरेको उनको भनाइ छ। ओलीले उत्तरतिरका नाकाहरू खोलिएकाले अबका दिनमा नाकाबन्दी नहुने दावी गरे।