ऋणीको धम्कीले काम गर्न गाह्रो भयो ः इन्भेष्टमेण्ट मेगा बैंक


काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ऋणी राजेश बास्कोटासहितको समूहले बैंकको अत्यावश्यकीय सेवामा नै अवरोध गर्न खोजेको आरोप लगाएको छ । ऋणीको धम्कीले काम गर्न गाह्रो भएको बैंकको भनाइ छ । बैंकको कर्जा उपभोग गरिरहेका झापाको भीरपाखा रिसोर्ट एन्ड फनपार्क र बास्कोटा कृषि तथा पशुपालन प्रालिका अध्यक्ष बास्कोटाका कारण सो अवस्था सिर्जना भएको बैंकले आरोप लगाएको हो । बास्कोटाले भने बैंकले स्वीकृत गरे अनुसारको रकम नदिँदा आफ्नो व्यवसाय नै धरापमा परेको जिकिर गरेका छन् । सोही विषयमा बास्कोटासहितको समूहले मंगलबार झापास्थित इन्भेष्टमेण्ट मेगा बैंकका सहायक म्यानेजरमाथि अभद्र व्यवहार गरेको थियो ।

उक्त विवादका विषयमा उनीहरू प्रहरीसम्मै पुगेका थिए । प्रहरी कार्यालयमा पुगेपछि भने दुवै पक्षले आफूहरू छलफल गरेर मिल्ने भन्दै बाहिरिएका थिए । राजेश बास्कोटाको भीरपाखा रिसोर्ट एन्ड फनपार्क र श्री बास्कोटा कृषि तथा पशुपालन प्रालिका नाममा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (तत्कालीन मेगा बैंक नेपाल लिमिटेड)बाट विभिन्न शीर्षकमा कर्जा सुविधा स्वीकृत भएको थियो । कृषि तथा पशुपालन प्रालिका नाममा स्वीकृत सम्पूर्ण कर्जा सुविधा राजेशले लिइसकेका छन् । भीरपाखा रिसोर्ट एन्ड फनपार्क प्रालिका नाममा स्वीकृत विभिन्न शीर्षकका परियोजनाको कर्जा भने निर्माणकार्यको प्रगतिका आधारमा दिने बैंकको सर्त थियो । सोहीबमोजिम बास्कोटाले केही कर्जा समेत लिएका थिए । बाँकी कर्जा रकम ऋणीको परियोजनाको प्रगति नभएको भन्दै रोकिएको थियो । त्यो सर्तभित्रै पर्ने बैंकले जनाएको छ । सोही कर्जाका विषयमा बैंक र बास्कोटा एकार्काको आरोप–प्रत्यारोपमा उत्रिएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *