सामूहिक भोजपछि लमजुङमा एकजनाको मृत्यु


काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका–८ मा सामूहिक भोज खाएका एकजनाको मृत्यु भएको छ । १८ जना अस्पताल भर्ना भएका छन् । सुन्दरबजार नगरपालिका–९ बस्ने देवी परियारको मृत्युको कारण ‘फुड पोइनज’ भएको बताइएको छ । उनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । सुन्दरबजार नगरपालिका–८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा सामूहिक भोज आयोजना गरिएको बताइएको छ ।

भोज खाने ३५ जनामध्ये १८ जना फुड पोइजनका कारण अहिले अस्पताल भर्ना भइसकेको एचडीसीएस नमुना सामूदायिक अस्पतालले जनाएको छ । शुक्रबार सामूहिक भोज खाएर घर गएका वडा नम्बर–८ र ९ का व्यक्तिहरू हिजो शनिबारदेखि बिरामी पर्न थालेका थिए । घरमै साधारण उपचार गर्दा समस्या देखिएपछि उनीहरू शनिबार बेलुका अस्पताल पुगेका थिए । भोजमा सहभागीहरू आइतबार बिहानसम्म पनि अस्पताल आइरहेको बताइएको छ । अस्पताल आएका बिरामीहरूमा ज्वरो र झाडापखलाको समस्या देखिएको छ । भोजमा सहभागीहरूले भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएको बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *