संसद सचिवालयको कार्यवाहक महासचिवमा पाण्डेय नियुक्त
काठमाडौं । संघीय संसद सचिवालयको महासचिवको जिम्मेवारी प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई दिइएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शपछि सभामुख देवराज घिमिरेले सचिव पाण्डेयलाई महासचिवको काम गर्न तोकेका हुन् । प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुख घिमिरेले कार्यवाहक महासचिवको जिम्मेवारी तोकेका हुन् ।
राष्ट्रपतिबाट महासचिव नियुक्तिमा ढिलाइ भएपछि सभामुखले कार्यवाहक तोकेका हुन् । कार्यवाहक महासचिव तोक्ने अधिकार भने सभामुखलाई रहेको छ । सभामुखले महासचिव नियुक्तिमा भएका ढिलाइ वा चासोबारे राष्ट्रपतिसँग संवाद गर्न चाहेको तर सम्पर्क नभएको पनि उनको सचिवालयले जनाएको छ ।