रैथाने बाली उत्पादनमा जोड दिऔं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले रैथाने बालीको उत्पादनमा जोड दिन आग्रह गरेका छन् । प्रथम नुवाकोट खेलकुद तथा सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री डा. महतले यस्तो आग्रह गरेका हुन् ।

‘रैथाने बालीको बजार र माग पर्याप्त छ । थोरै उत्पादन भयो भने पनि मूल्य धेरै पाइन्छ । अब हामीले यतातिर ध्यान दिनुपर्छ,’ उनले भने, ‘रासायनिक मल, किटनाशक औषधिले रोगब्यादी बढ्यो । नयाँ नयाँ रोग देखापर्‍यो, यी सबै हाम्रो खानपान र जीवनशैलीले गर्दा हो । हाम्रो जीवनशैली सुहाउँदो उत्पादनलाई प्रवर्द्धन गर्न उन्मुख हुन आग्रह गर्दछु ।’

महोत्सवमार्फत् नुवाकोटको कला संस्कृति, सभ्यता, खेलकुद उत्पादन र विविध विशेषता झल्कने बताउँदै महोत्सव हेर्न आउनेले जिल्लाको विविधता चिन्ने अवसर पाउने उनको भनाइ थियो ।

‘देशको सांस्कृतिक र भौगोलिक, जलवायु, वनस्पति, चराचुरुङ्गी, जातजाति, भाषा र भेषभूषाको विविधता नेपालको गौरव हो । यो विविधताको संरक्षण हुनुपर्छ । जति धेरै विविधता छ, त्यत्ति धेरै हामी समृद्ध हुँदै जान्छौं,’ उनले भने, ‘हरेक जातिको पहिरन, खानपान, रहनसहन, लवाइखवाइ र हजारौं वर्षदेखि विकसित जीवनशैली संरक्षण हुनुपर्छ । हामीले मौलिकता छोड्दा नेपालको पहिचान गुम्ने डर भयो । अहिले पुनरजागरण देशमै आइरहेको छ ।’

रैथाने/आर्गनिक बाली बिक्री गरियो भने दोब्बरभन्दा बढी आम्दानी हुने मन्त्री महतले बताए ।नुवाकोटमा उत्पादन हुने फलफूल र तरकारी एक डेढ घण्टामा काठमाडौंको बजारमा पुर्‍याउन सक्ने सम्भावना औंल्याउँदै मन्त्री डा. महतले भने, ‘सडक सञ्जालको विस्तार भएको छ, अब घरमा बसेर काठमाडौंमा जागिर खान सकिन्छ, डेरा लिइराख्नु पर्दैन ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *