हिमपातले न्यालुको बाटो बन्द

हुम्ला । हिमपातका कारण नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमी आउजाउ बन्द भएको छ । लिमी जाने नारा र न्यालु लेकमा बाक्लो हिउँ जमेका कारण लिमी आउजाउ बन्द भएको हो ।

लिमीका स्थानीय निमा तामाङले सोमबार परेको बाक्लो हिमपातका कारण लिमी आउजाउ बन्द भएको जानकारी दिए । लिमी जाने दुई वटा नाका चार हजार छ सय मिटर अग्लो नारा लेक र पाँच हजार अग्लो न्यालु लेकमा बाक्लो हिमपात भएका कारण सडक अवरुद्ध भएका कारण लिमी आउजाउ बन्द भएको उनले बताए । उनका अनुसार अब लिमीका स्थानीयसँग सम्पर्क गर्ने माध्यम भनेको फोन मात्र हो ।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले नारा र न्यालुमा तीन फिट हिउँ जमेका कारण लिमी आउजाउ बन्द भएको जानकारी दिए। लिमीका तीन गाउँ तिल, हल्जी र जाङ्गका बासिन्दाको आउजाउ बन्द भएको छ । सडकमा जमेको हिउँ पन्छाउने कार्य नभए वैशाख जेठसम्म लिमी आउजाउ बन्द हुने छ । त्यसमाथि हिउँद भर्खर सुरु भएकाले हिउँ पर्ने समय अझै बाँकी छ । कात्तिक अन्तिम साता लिमीको सुनखानीमा रहेको सीमा प्रहरी चौकी सदरमुकाम सरिसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *